कला संस्कृति संरक्षणमा जुटौँ : पर्यटनमन्त्री आले


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर १८, २०७८

  • काठमाडौँ, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला र संस्कृति देशका गहना भएकाले यिनको संरक्षण तथा प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताउनुभएको छ । कलाकार शिवराम कासुलाद्वारा लिखित ‘नृत्य सूत्र तथा लिपि’ नामक कृतिको आज यहाँ विमोचन गर्दै उहाँले अन्तर्राष्ट्रियरूपमै ख्याति कमाइरहेका नृत्यहरूले मानिसलाई प्रफुल्लित बनाउने मात्र नभई तत्कालीन समय बोध गराइरहेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “समग्र नेपाल संस्कृतिमा विशाल धनी छ, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदा यहाँका सरलता र विशेषता हुन्, यहाँका नाचहरूले अन्तर्राष्ट्रियस्तरमा धेरै पुरस्कार प्राप्त गरेका छन्, ताण्डव र भैरवलगायत नृत्यले मान्छेको मनमात्रै प्रफुल्लित बनाएका छैनन् तत्कालीन समय बोध गराएका छन् ।” पर्यटनमन्त्री आलेले साहित्य, संस्कृति, अध्यात्म, कला विज्ञान सबै जीवनका लागि भएको र जीवनमा चाहिने मनोरञ्जनात्मक नृत्यमात्रै होइन, त्यसका शब्दले धेरै कुरा बताएजस्तै पुस्तकले पनि अनगिन्ती कुरा बताइरहेको बताउनुभयो । “सङ्गीतको तालमा शरीरको चाललाई हिँडाउने कुरा भए पनि यसले धेरै अर्थ बोकेको छ, सुखदुःखको भावलाई यसले बताउने छ, धर्म र संस्कृति, चाडबाड र विजयोत्सव मनाउन गरिने नृत्य आज विश्वव्यापी भएको छ”, उहाँले भन्नुभयो ।

    उहाँले संस्कृतिलाई साक्षात देखाउने नृत्यबारेमा लेखिएको कृतिले नेपाली वृत्तलाई संसारभर पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री आलले सातवटै प्रदेशमा लेखन हुने गरी मन्त्रालयले बजेट व्यवस्थापन गर्ने वचन दिनुभयो । पुस्तकको समीक्षा गर्दै जगदम्बा श्री पुरस्कार विजेता भैरवबहादुर थापाले नेपालको नृत्य विधालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नृत्य सूत्रले समेटेका विषयवस्तु स्तरीय रहेको कला र संस्कृतिको सम्वद्र्धनमा टेवा पुग्ने बताउनुभयो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले नृत्य सूत्रसम्बन्धी बृहतरूपमा समेटिएको पुस्तक नेपालमै पहिलोपटक प्रकाशन भएको र यसले नेपालको नृत्य कलालाई विश्वबजारमा उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नमूना शर्माले नृत्य सूत्रसम्बन्धी अनुसन्धनात्मक कृतिले नेपालको नृत्य कलालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताउनुभयो । घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले कला र संस्कृतिको संरक्षण प्रवद्र्धन गर्न संस्था लागिपरेको बताउनुभयो ।

    लेखक कासुलाले लामो अनुसन्धान र मेहेनतका साथ पुस्तक तयार गरेकाले नृत्य कलाका लागि सान्दर्भिक हुने बताउनुभयो । नृत्य सूत्र तथा लिपि पुस्तकमा ६४ अक्षरमा सूत्रबद्ध सङ्केत लिपि रहेको छ । नृत्य लिपि मञ्चन, चालचाली ऊर्जा, शिराकाश प्रणाम, नृत्य सूत्र, नृत्य विज्ञान, संचेली, नाचुली जयमामी, बब्नामी सयनामी, नउत्षङ्गना आदि विषयलाई विस्तृतरूपमा व्याख्या गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार