युरोपेली शहरमा सिधा हवाई उडानबारे छलफल


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर २२, २०७८

  • काठमाडौँ, २२ मङ्सिर । नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्नेबारे कुराकानी भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ । बोर्डमा भएको भेटका क्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासको आदानप्रदान गर्ने कुरामा जोड दिइएको छ ।

    भेटका क्रममा राजदूत गिल्सले नेपालको पर्यटन विकासका लागि फ्रान्स सधैँ सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकले नेपालको साहसिक पर्यटन, पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दरता मन पराउने बताउनुभयो । उहाँले आफूसमेत पदमार्ग गर्न रुचि राख्ने व्यक्ति भएको बताउनुभयो । यस्तै उहाँले फान्सेली पर्यटकको नेपाल आगमनका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले युरोपेली शहरबाट नेपालसम्मको सिधा उडान भए नेपालमा युरोपेली पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    बोर्डका कार्यकारी अधिकृत रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले साहसिक पर्यटनमा रुचि राख्ने फ्रान्सेली पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउँदै सन् २०१८ मा फ्रान्सबाट करिब ३२ हजार र सन् २०१९ मा ३१ हजार पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिनुभयो ।

    यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले फ्रान्सबाट भारत, भुटान, थाइल्याण्डका गन्तव्यमा काम गर्ने पर्यटन व्यवसायीलाई नेपालसम्म लिङ्क गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल र फ्रान्सबीच सन १९४९ अप्रिल २० देखि दौत्य सम्बन्ध रहँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार