पाल्पामा जन्मिएकी नीलम कार्की ‘निहारिका’ शसक्त नारी हस्ताक्षर हुन् । ०७४ का लागी उनको उपन्यास योगमायाले मदन पुरस्कार हात पारेको छ । ऐतिहासिक विषयवस्तुमा खोज, अनुसन्धान गरेर लेखिएको योगमायाले प्रतिष्ठित पुरस्कार पाएपछि उनको चर्चा थप चुलिएको छ । यसअघि निलमका हवन (कथा–संग्रह), ब्रेन फिभर (कविता–संग्रह), कागजमा दस्तखत (कथा–संग्रह), नीलम कार्की ‘निहारिका’ का कविता (कविता–संग्रह), बेली (कथा–संग्रह), अर्की आईमाई (उपन्यास) बजारमा आईसकेका छन् ।
लेखनमा कसरी प्रबेश गर्नुभयो ?
प्रथमत रहर नै रहरले हो । विद्यालयमा कविता प्रतियोगिता आयोजना भएको थियो । त्यसको विशेषता पुरस्कृत भयो भने मुखपत्र किसानमा छापिने भनेको थियो । छापिने हुट्हुटिले मैले कविता लेखें । यसरी लेखनमा मैले हात हालें ।
स्कुल, कलेज पढ्दा जीवनमा के बन्ने सपना पाल्नु भएको थियो ?
विद्यालयमा पढ्दा नर्स बन्ने सपना थियो । अनि नर्सिङ पढ्दै गर्दा लेखन आरम्भ गरें । वीस वर्षको उमेरभित्र दुई वटा उपन्यास पनि लेखें । अनि नर्सिङ पढि सकेर नर्सिङ पढ्ने विद्यार्थीहरुलाई अध्यापन पनि गरेकी थिएँ । तर छोडेर रेडियो नेपालमा साहित्य संसार कार्यक्रममा आबद्ध हुने मौका पाईयो । दाहाल यज्ञनिधी सरले, ‘साहित्यको लगाबले भै खाएको राम्रो तलब आउने जागिर छाडेर करारको तीन हजारमा झुन्डिएकी छौ नानी’ भन्नु हुन्थ्यो । अहिले बिगत हेर्दा बाहिर जे जस्तो भएपनि अन्तर हृदयले साहित्य नै रोजेको थियो ।
लेख्न बस्दाका आनिबानीबारे बताईदिनुस् न ।
पहिले छोराहरु स–साना थिए । कार्य ब्यस्तताले गर्दा राती लेख्ने बाध्यता भयो । त्यही बाध्यता अहिले बानी भयो । एक निद्राबाट ब्युँझेपछि लेख्न मन लाग्छ । अनि ३, ४ घण्टाको लेखनपछि बिहानीपख फेरी सुत्छु । मेरो मोबाइलमा बिहानको साढे ६ बजे एक अलार्म बज्छ । अनि आफ्ना अरु कामहरु गर्छु । कहिलेकाही लेख्ने बेलामा कालो चिया पिउँपिउँ लाग्छ । पहिला जहाँपनि लेख्न सक्थें । आजभोली मन अलि एकान्त नै खोज्छ । दिउसो पनि एकान्तमा लेख्ने गर्छु । बच्चाहरु स्कुल गईसकेपछि बिशेषत ८ देखी ३ बजेको समयमा लेख्छु । पढ्न भने कुनै निश्चित समय हुँदैन । जस्तो परिस्थीतिमा पनि म एक्लै पढ्न सक्छु । रात र एकान्त । सुनसान ।
तपाईलाई कुन विधा सबैभन्दा प्रिय लाग्छ ?
एउटा मात्र रोज्नु पर्दा कविता । तर सबै बिधाको आफ्नै स्वाद छ । महत्व छ ।
तपाईका प्रिय लेखकहरु को-को हुन् ?
बिपी कोइराला र पारिजात ।
अरुलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
जसरी लेखकको लेखनको उद्देश्यबाट निर्देशित हुन्छ, त्यस्तै पाठकको पठनको पनि आफ्नै उद्देश्य हुन्छ । आफ्नो इच्छा अनुसार पुुस्तक छनौट गर्ने हो । आफ्नै उदाहरण प्रस्तुत गर्छु, योगमाया लेखनको अन्त्यतिर यति तनाब भयो कि मैले रमाइलो प्रेम कथाको पुस्तक खोजेर पढें । मैले प्यारकिया चलचित्र २०४६ सालमा हेरेकी थिए । फेरी दोहोर्याएर हेरें । जब कि म आर्ट चलचित्र मन पराउने मान्छे । त्यसैले पाठकलाई यही पुस्तक पढ्नु भन्नु अन्याय हो । तर कमसेकम नेपालको इतिहास र नेपाल पढिदिनुस् भन्ने अनुरोध भने अबश्य गर्छु ।
लेख्न चाहेको तर लेख्न नसकेको विषय केही छ कि ?
अबश्य छन् । समय स्रोतको अभाबले थन्किएका त्यस्ता विषयले निकै पिरोल्ने गर्छ ।
खासगरी साहित्यमा अझैपनि नारीहरुको संख्या उत्साहजनक रुपमा आउन सकेको छैन । किन होला ?
धेरै कारणहरु छन् । योगमायाले राणाकालमा राखेको मिलापत्रमा नारीले पनि पढ्न पाउनुपर्छ भन्ने थियो । यो सय वर्षभित्र नारीलाई अध्ययनको निम्ति करिब करिब समान अबसर मिल्दै गएको अबस्था छ । पुरुषको तुलनामा नारीको साक्षरता संख्या नै न्युन छ । यसैले पनि लेखनमा संख्यात्मक रुपमा लेखनमा नारीको संख्या कम हुने अबस्था छ । तर आगमन भने सुखद नै छ । साहित्यमा नारी लेखकहरु आउने क्रम जारी छ । हामी स्वागतद्वारमा छौं ।