दोस्रो ऋषिङ अल्ट्रा म्याराथान यही पुस २७ मा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस ५, २०७८

  • दमौली, ५ पुस । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको जनाउँदै केही समय अगाडी मात्रै पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।

    गाउँपालिकाले पुस २७ गते खुल्ला म्याराथन, स्थानीय म्याराथन र महिला म्याराथन प्रतियोगिता एकैसाथ आयोजना गर्दैछ । खुल्ला म्याराथन ४२.२ किमि दूरीको हुनेछ । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिनेछ । स्थानीयतर्फ १० किमी दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुङ्गिनेछ भने महिलातर्फ ४ किमी दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुङ्गिनेछ ।

    खुल्लातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने तीन जनालाई रु दश हजार पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । स्थानीय प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु ६ हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

    गत वर्ष आयोजित प्रथम ऋषिङ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले जित्नुभएको थियो । प्रतियोगितामा डोटीका नवराज साउद द्वितीय, सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय र कालिकोटका देवराज महतारा चौथो हुनुभएको थियो । यस्तै दश किमी दूरीमा भएको स्थानीय दौडको उपाधि पदमबहादुर आले प्रथम, विजय आले दोस्रो र नेखबहादुर कुमाल तेस्रो हुनुभएको थियो । चार किमी दूरीमा भएको महिला दौडमा सीता रानाभाट प्रथम, यमुना थापा दोस्रो र सुम्मिता रानाभाट तेस्रो हुनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार