क्रिकेट रङ्गशालाको लाइन काटियो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस ८, २०७८

  • चितवन, ८ पुस । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल रु आठ लाख ८७ हजार पुगेको छ ।

    यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उहाँले बताउनुभयो । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ । फाउण्डेसनले रु १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ । प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीले रु ३७ लाख ४१ हजार बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको छ ।

    यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिनुभयो । पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित रु एक करोड ४० लाख हाराहारी महशुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ । विगत केही वर्ष अघियस कार्यालयमा बक्यौता मात्र रु सात करोडसम्म पुगेको पौडेलले जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा महशुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार