भक्तपुरमा जिल्ला फुटबल लिग सुरु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस १०, २०७८

  • भक्तपुर, १० पुस । भक्तपुर जिल्ला फुटबल सङ्घले आजदेखि सानोठिमीस्थित खेल मैदानमा जिल्ला फुटबल लिग २०७८ प्रतियोगिता सुरु गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आज प्रतियोगिताको उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले काठमाडौंँ उपत्यकाका तीनवटै जिल्लाका साथै देशका धेरै जिल्लामा फुटबल सङ्घका सिण्डिकेट रहेको भन्दै भक्तपुरमा रहेको विवादलाई छानबिन समितिको प्रतिवेदनका आधारमा सङ्घलाई प्रतिस्थापन गरेको बताउनुभयो ।

    मध्यपुर युथ एशोसिएशनले १२ वर्षसम्मका बालबालिकालाई ग्रासरुट फुटबल खेलको सुरु गरेर अहिले देशभर १७ हजार ५०० बालबालिका फुटबलमा सहभागी रहने अवस्था बनाएको भन्दै भक्तपुर फुटबलमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले अझै अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष वचन देउजाले फुटबलमा धेरै पछाडि रहेको भक्तपुर अहिले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा पुगेको भन्दै खेलकुदलाई अतिरिक्त शिक्षाका रुपमा नभई नियमित शिक्षाका रुपमा विकास गर्दै लैजान सके खेलकुदको विकास उच्चरुपमा गर्न सकिने बताउनुभयो । त्यसअवसरमा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले खेलकुद सङ्घ एउटा पार्टीको सिण्डिकेटबाट मुक्त भएको भन्दै खेलकुदको विकासमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले राजनीतिक दल चुनावी मैदानमा प्रतिस्पर्धा गरेर कांग्रेसएमाले जसले जिते पनि खेलकुदको विकासमा एकले अर्कोलाई घचघच्याएर दुवै पार्टी जिम्मेवार भएर लाग्ने बताउनुभयो ।

    कार्यक्रममा एन्फाका उपाध्यक्ष एवं मध्यपुर युथ एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले मध्यपुर युथ एशोसिएन ए डिभिजनमा उक्लिसकेको भए पनि आर्थिक अभावका कारण त्यसका टिकाउन नसकेको बताउँदै अब फागुनमा हुने बि डिभिजन लिगबाट ए डिभिजनका उक्लने गरी तयारी गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, बिज एजुकेशनका निर्देशक हरिकृष्ण कार्की, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल हेका, अध्यक्ष किशोर हेकाले फुटबल खेलको विकासमा भक्तपुरले गरेको प्रगतिको चर्चा गर्नुभयो । सङ्घले लिग कम नकआउटको आधारमा सञ्चालन गरेको प्रतियोगितामा भक्तपुर जिल्लाका १३ वटा टिमको सहभागिता रहेको र खेल दुई चरणमा आगामी २८ गतेसम्म हुने सङ्घका कोषाध्यक्ष निलेश आचार्यले जानकारी दिनुभयो ।

    एन्फाको वार्षिक कार्यक्रमअन्तर्गत भएको प्रतियोगिताको आज पहिलो खेल जनप्रेमी स्पोर्टस् क्लब कौशल्टार र लोकन्थली एफसीबीच भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५० हजार र दोस्रो हुने टिमलाई रु २५ हजार नगद पुरस्कारसहित खेलाडीलाई मेडल, प्रमाणपत्र तथा सिल्ड प्रदान गरिने जानकारी दिँदै आचार्यले यो खेलमा विजयी हुने टिम प्रदेशस्तरीय लिगमा र प्रदेशस्तरीय लिगमा विजयी हुने टिमले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार