शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपंक्षी गणना सुरु


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस १८, २०७८

  • कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणना अगामी माघ २ गतेसम्म जारी रहने छ । यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ ।

    गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिनुभयो । स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना हुने उहाँले बताउनुभयो । उहाँका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुने छ । अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुने छ । “तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपक्षीको अनुगमन र गणना हँुदै आएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष जलपक्षीले बस्ने तालको अवस्थाका बारेमा समेत जानकारी लिन्छौँ ।  तालबारे जिपीएस लोकेशनसमेत लिन्छौँ ।”

    “पानीको सतह विगतमा कस्तो थियो ? अहिले कस्तो छ ? यसबारे रेकर्ड राख्छौँ”, उहाँले भन्नुभयो, “जलपक्षीका कुन–कुन प्रजाति विगतका वर्षमा आएका थिए । यस वर्ष कुन–कुन देखिए यसबारेसमेत रेकर्ड राख्छौँ । यससँगै सिमसार क्षेत्रको अवस्था, तालमाथिको मानवीय अतिक्रमण प्राकृतिकरूपमा भएको क्षतिबारेसमेत जानकारी लिइन्छ ।” गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए ।

    तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताउनुभयो । उहाँका अनुसार सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, तालतलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्दछन् । केही जलपक्षी चिसो छल्नका लागि साइवेरियालगायतका क्षेत्रबाट लामो दूरी तय गरी यहाँको बाटो प्रयोग गरी भारत र श्रीलङ्कातर्फ जाने गरेका छन् । बाटोको प्रयोग गर्ने क्रममा यहाँका तालतलैयामा बस्ने गरेका छन् ।

    यसैगरी शनिबारदेखि कैलालीको तालतलैया र सीमसार क्षेत्रमा समेत जलपक्षी गणना सुरु गरिएको छ । घोडाघोडी ताल क्षेत्रबाट जलपक्षी गणना सुरु गरिएको चराविज्ञ डगौराले राससलाई जानकारी दिनुभयो । घोडाघोडीसहित कोहली, लोकाभौका, घोडा, सुनियारुपिया, पुरैनालगायतका ताल र कर्णाली नदीमा जलपक्षी गणना हुनेछ । कर्णाली नदीमा ¥याफ्टिङको प्रयोग गरी जलपक्षी गणना हुने छ । गत वर्षको गणनामा कैलालीका जलाधार क्षेत्रमा ३२ प्रजातिका जलपक्षी देखापरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार