नेपाल प्रहरीका २६ एसएसपीको सरुवा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २३, २०७८

  • काठमाडौँ, २३ पुस । नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर) को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो । एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाको प्रमुख फेरिएका छन् ।

    ट्राफिक महाशाखामा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशी र अपराध महाशाखामा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको हो । यसअघि ट्राफिक महाशाखामा कार्यरत जनक भट्टराईलाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङलाई अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी प्रधान कार्यालय महिला तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भीमप्रसाद ढकालको सरुवा गरिएको छ ।

    विमानस्थलमा कार्यरत राजेशनाथ बाँस्तोलालाई भने प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै प्रदेश कार्यालय, तालिम केन्द्रमा कार्यरत एसएसपीको पनि सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार