 
                            कञ्चनपुर, १२ माघ । मुक्तहलिया समुदाय र अपाङ्गता भएका व्यक्तिको सहजताका लागि महेन्द्रनगरमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । मुक्तहलिया र अपाङ्गता भएका व्यक्तिको शैक्षिक, स्वास्थ्य, बसोबासलगायतको अधिकार सुनिश्चितताका लागि पहल गर्न मुक्तहलिया सशक्तिकरण परियोजनाअन्तर्गत सहायता कक्ष सञ्चालन गरिएको हो । “मुक्तहलिया र अपाङ्गता भएका व्यक्तिलाई राज्यले प्रदान गरेको अधिकार हनन् भएको अवस्थामा आवाज उठाउनका लागि सहायता कक्षबाट सहयोग गर्छौ”, सहायता कक्षका सम्पर्क व्यक्ति सिबी लुहारले भन्नुभयो, “लक्षित समुदायले अधिकार नपाएको गुनासो गरेमा अधिकारका लागि प्रयत्नशील रहन्छौं ।”
मुक्तहलिया र अपाङ्गता भएका व्यक्तिका बालबालिकाको शिक्षामा पहुँच पु¥याउन, छात्रवृत्रि नपाएको अवस्थामा सहायता कक्षमा सहयोग माग्न आए सम्बन्धित निकायमा पुगेर सुनवाइ गर्नका लागि दबाब सिर्जना गरिने उहाँले बताउनुभयो । मुक्तहलिया र अपाङ्गता भएका व्यक्तिलाई राज्यका तर्फबाट उपलब्ध हुने निःशुल्क उपचार सेवा नपाएको अवस्थामा सहायता कक्षबाट पहल गरिने व्यवस्था गरिएको छ ।
भूमिहीन मुक्तहलिया परिवारलाई बसोबासको व्यवस्था मिलाउनका लागि सम्बन्धित स्थानीय तहसँग समस्या राखेर समाधानका लागि कार्य अगाडि बढाइने भएको छ । राज्यका सेवा प्रदायक संस्थासँग अधिकार अभिवृद्धि गर्ने, समुदायमा घटेका घटनाको अध्ययन, विश्लेषण गर्ने, मानव अधिकार उल्लङ्घनका घटनाको पैरवी गर्ने र लक्षित समुदायको न्यायिक निकायमा पहुँच पु¥याउने सहायता कक्षको लक्ष्य रहेको छ ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    