हुम्लामा पाँचौँ दिनमा हवाई सेवा सुरु


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ २५, २०७८

  • सिमकोट, २५ माघ । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो ।

    पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ । हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ । नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन् ।

    यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ । पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ । सीता र तारा एयरले जिल्लाका लागि उडान भरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार