गायक रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’ मा नायिका खुश्बु र नायक आकाशको अभिनय


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २, २०७८

  • काठमाडौं, २ फागुन । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को पूर्व सन्ध्यामा सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यस गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ‘आकाशु को शब्द रचना रहेको छ । प्रेमभावको गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् ।

    सुव्रत आचार्य निर्देशित म्यूजिक भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी र उत्सव दाहाल को छायांकन रहेको छ । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज मोहित मुनाल र मिक्सिङ किशोर थापाले गरेका हुन् । भिडियो सार्वजनिक कार्यक्रममा गायक रामकृष्ण ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्ने बताए । । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए । यो गीत उनकै नाममा रहेको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

    भिडियोका मोडल आकाश श्रेष्ठले रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । उनले भने९ ‘म रामकृष्ण दाइको बच्चैदेखि ठूलो फ्यान हुँ । उहाँसँग काम गर्न जसलाई पनि इच्छा हुन्छ र मलाई पनि थियो । यो गीतले मेरो त्यो इच्छा पूरा गरेकोमा एकदमै खुसी छु ।’

    यस गीतकी मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडियोभन्दा यसमा केही फरक गर्न खोजेको बताए । उनले भिडियोलाई ‘भ्यालेनटाइन डे’ सँग जोड्ने गरी तयार गरेका छन् । भिडियोमा आकाश र खुश्बुको केमेस्ट्री मिलेको छ ।

    रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतिमा गीत तयार भएको हो । गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    भिडियो

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार