फागुन २७ देखि ‘कर्णाली उत्सव’


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन १३, २०७८

  • काठमाडौँ, १३ फागुन । ‘कर्णाली उत्सव’ को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानको साझेदारीमा ‘कर्णाली उत्सव’ आयोजना गर्दै आएको छ ।

    यसअघि फागुन १७ देखि १९ गतेसम्म तय गरिएको कार्यक्रम कोभिड–१९ को कारण केही समयपछि सारिएको हो । ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ का संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११ सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी दिनुभयो । उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै पुस्तक विमोचनको समेत कार्यक्रम रहेको छ । विभिन्न माध्यमबाट कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने चारभन्दा बढी कर्णालीवासीका (कर्णालीका हिरोअर्थात् खस भाषामा पैकेलो) सफलता तथा सङ्घर्षका कथाहरु प्रस्तुत गरिनेछ । उत्सवको प्रारम्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले ‘खस भाषाको लहरो’ शीर्षकमा विद्वत प्रवचन दिनुहुनेछ ।

    आयोजकका अनुसार ‘सङ्घीयताको सङ्घर्ष’ विषयक सत्रमा विभिन्न वक्ताले बहस गर्नेछन् । सङ्घीयताका कारण प्रदेश तथा स्थानीय तहले पाएका अधिकार र कार्यान्वयनका जटिलताका साथै अधिकार प्राप्तिका लागि भएको सङ्घर्षबारे बहस हुनेछ । कर्णालीका गाउँगाउँमा गुनगुनाइने लोक भाकाको विषयमा ‘कर्नाली भेरी सुसेल्दोछ’ सत्रमा बहस हुनेछ । कर्णालीका लोकलयमा गीत–सङ्गीत लेखन तथा निर्माणमा संलग्न गायक तथा सङ्गीतकार यस सत्रमा उपस्थिति रहनेछ । कर्णाली उत्सवको अर्को विषय हो, ‘बजार विकास, हजार निकास’ । कर्णालीमा बजारलाई कसरी स्वतन्त्र बनाउन सकिन्छ ? भन्ने विषयमा यय सत्रमा बहस हुनेछ ।

    बजारको विकासबाट आउने हजार निकासको विषयमा सत्र केन्द्रित हुने बताइएको छ । निजी क्षेत्र तथा कर्णालीमा निजी क्षेत्रको लगानीका विषयमा ‘लगानीमा लगाम’विषयमा बहस हुनेछ । कर्णाली प्रदेशबाट राष्ट्रियस्तरसम्म पुगेर राजनीति गर्न कति सजिलो छ ? शक्ति केन्द्रसम्म पुग्दाको सङ्घर्ष कस्तो छ ? राजनीतिक संस्कार र कर्णालीको समग्र विकासका लागि योगदान के हुनसक्छ भन्ने विषयमा बहस हुनेछ ‘राजनीतिको खलङ्गा’ शीर्षकको सत्रमा । कर्णालीमा विद्युतीकरण र ग्रामीण विद्युतीकरणका विषयमा ‘झरो उजेलोको खरो’ सत्रमा बहस हुनेछ । कर्णालीमा विद्युत् पु¥याउनका लागि आवश्यक कार्यसम्पादनका विषयमा यो सत्र केन्द्रित हुनेछ ।

    परम्परागत आरनदेखि वैज्ञानिक आविस्कार तथा अन्वेषणसम्बन्धी बहस, मिडियामा आउने सूचना र नागरिकमा पर्ने भ्रमसम्बन्धी बहस ‘रैबार र रैला’ शीर्षकमा हुनेछ । नेपालका विभिन्न राजनीतिक दलहरुले अङ्गीकार गर्ने राजनीतिक सिद्धान्त (वाद) को सान्दर्भिकता के छ ? सिद्धान्तलाई व्यवहारमा कसरी ढाल्न सकिन्छ ? समृद्धिको सिद्धान्त के हो ? भन्ने विषयमा ‘वाद, विवाद र संवाद’ सत्रमा हुनेछ । ‘कर्णाली भेरी तिरैतिर ः भविष्यको पीर’ सत्रमा कर्णाली र जलवायु परिवर्तनको तथा विपद्सम्बन्धी बहस हुनेछ । उत्सवको अन्तिममा कर्णाली चिन्तन (दिगो विकास र कर्णाली) सत्र छ, जहाँ दिगो विकास र कर्णाली विषयमा लिखित मन्तव्यसहितको प्रवचन दिने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार