यस पटक पनि फेरि नेतृत्व चयन कै विवादले एउटा दुःखद परिस्थितिको सृजना भयो – जीवा लामिछाने, पूर्व अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए)


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र १२, २०७८

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिश्व सम्मेलनमा मेरो मन्तब्यको पूर्ण अंश :
    सम्माननीय राष्ट्रपतिज्यू, माननीय गृहमन्त्रीज्यू, नेपाल सरकारका पदाधिकारीज्यूहरु, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संस्थापक एवं पूर्व अध्यक्षज्यूहरू, उद्योग बाणिज्य महासंघका अध्यक्षज्यू तथा पदाधिकरिज्यूहरु, यस हलमा उपस्थित तथा संसारभरबाट विद्युतीय माध्यमद्वारा जोडिनु भएका एनआरएन साथीहरू, संचारकर्मी मित्रहरु, उपस्थित दाजुभाइ दिदीबहिनीहरू,

    संसारभरि छरिएर रहेका असंख्य साथीहरूको संघर्ष, परिश्रम र योगदानले स्थापित गैरआवासीय नेपाली संघले विभिन्न चुनौतीलाई पार गर्दै करिव दुई दशकको यात्रा तय गरेको छ । एक संस्थापक सदस्यका नाताले म झन्डै बीस वर्ष अगाडिका ती दिनहरु सम्झेर अझै भावुक र रोमाञ्चित हुन्छु । जब हामी सन् २००३ मा पहिलो विश्व सम्मेलन गर्दै थियौं, नेपालको शान्ति र समृद्धिमा आफ्नो क्षमताले भ्याएसम्म संलग्न हुने उत्कट चाहनाले हामी बीच गहिरो एकता, उत्साह र केही गरिहाल्ने आतुरता थियो । संसारभरि छरिएर रहेका नेपालीलाई एक आपसमा भावनात्मक रुपमा जोड्नु हाम्रो प्रारम्भिक लक्ष्य थियो ।

    अनि त्यसरी भावनात्मक रुपले एकताबद्ध डायास्पोरालाई आ-आफ्नो सीप र क्षमतालाई बोकेर मातृभूमि नेपालको समुन्नतिमा हातेमालो गर्न प्रेरित गर्ने हाम्रो मूल लक्ष्य थियो । हाम्रो संगठित प्रयत्नका फलस्वरुप यी दुवै लक्ष्य नसोचेको गतिमा हासिल भयो । गैरआवासीय नेपाली संघले संसारका सबै कुनाका सबै नेपालीलाई भलै समेट्न सकेको छैन होला, तर हरेक देशमा हाम्रो संगठन नेपालीहरूको सबैभन्दा ठूलो, प्रभावशाली र समुदायको साझा चौतारी जस्तो संगठन बनेको स्वीकारोक्तिमा कुनै अत्युक्ति छैन ।

    गैरआवासीय नेपाली अभियानको विस्तार सँगै संख्यात्मक र गुणात्मक ढंगले बृद्धि भइरहेको विश्वव्यापी नेपाली समुदायको नेपालसँग जोडिने क्रममा पनि अभूतपूर्व बृद्धि भएको छ । अब एनआरएनहरूको नेपालमा कति लगानी छ भन्ने प्रश्न नै गौण बनेको छ भन्ने लाग्छ । किनकि गैरआवासीय नेपाली समुदायको साना ठूला आर्थिक र बौद्धिक लगानी अब नेपालै भरि छरिएको छ र गनेर साध्य छैन । परिबारदेखि समुदायसम्म, परोपकारदेखि नाफामूलक परियोजनासम्म क्षमता अनुसारको व्यक्तिगत वा सामुहिक लगानीले गैरआवासीय नेपालीको उपस्थिति अब नेपालका हरेक क्षेत्रमा फैलिएको छ । यो अझ घनिभूत भएर विस्तारित हुनेमा कुनै शंका छैन ।

    विदेशमा रहेर पनि नेपालको उन्नतीमा हातेमालो गर्न उत्साहित समुदायका रुपमा मातृभूमिले पनि हामीलाई उत्तिकै स्नेह दिएको थियो र छ । छोटो समयमै गैरआवासीय ऐनदेखि गैरआवासीय नागरिकतासम्मका ऐतिहासिक उपलब्धिका पछाडि आम नेपाली जनताको यही स्नेह र आशाको ठूलो भूमिका रहेको कुरामा कुनै विवाद छैन । संविधान निर्माणपछि समग्र मुलुक नै समृद्धिको पथमा केन्द्रित रहेको बेला त्यो यात्रामा हाम्रो समुदायको सहभागिता अपेक्षित र आवश्यक थियो ।

    देशको हामीप्रतिको माया र अपेक्षा आज पनि उस्तै छ । तर साथीहरू, के हामी जुन उद्देश्यले जोडिएका थियौं, ‘नेपालीका लागि नेपाली’ भन्ने जुन भावनाले गाँसिएका थियौं त्यसमा अझै उत्तिकै समर्पित त छौं रु मातृभूमिको समृद्धिमा नै डायास्पोराको इज्जत, सम्मान र सुरक्षा आधारित हुन्छ भन्ने बुझेको हुँदा नेपालको समुन्नतिमा हाम्रो गहन भूमिका हुनैपर्छ भन्ने कुरामा हामी विश्वस्त छौं, तर के आफ्नो भूमिकाप्रति हाम्रो स्थापनाकालीन प्रतिबद्धता अझै उत्तिकै गहिरो त छ रु

    दुई दशकको यो रोमाञ्चक यात्रामा कतै हामीले आफ्नो फोकस गुमाएर पथच्युत त हुँदै गएनौरु अभूतपूर्व विश्वव्यापी भौगोलिक र संख्यात्मक विस्तारका बावजूद हाम्रो संस्थाको साख आज किन गिरेको छ रु यो अति नै दुर्भाग्यपूर्ण कुरा हो । त्यसका लागि थोरबहुत हामी सबै जिम्मेबार छौं । संघमा आवद्ध सम्पूर्ण नेतृत्व वर्गले यस्तो अवस्था किन आयो र अब के गर्ने भन्ने विषयमा खुला सम्वाद, आत्मालोचना र विमर्श गरेर सुधारका उपाय पहिल्याउन आवश्यक छ । र, इमानदारिपूर्वक त्यसलाई लागू गर्ने प्रतिबद्धता देखाउन जरूरी छ ।

    गैरआवासीय नेपाली साथीहरू,
    हामीसँग संसारमा अरु कुनै डायास्पोरासँग नभएको गर्व गर्नलायक विश्वव्यापी संगठन भएको इतिहास निर्माण भइरहँदा केही अनपेक्षित विकृति र अप्ठ्याराहरूको सामना गर्नु परिरहेको हामी सबैले महसुस गरेका छौं । नेतृत्वको चयन गाह्रो र असाध्यै खर्चिलो हुँदै गएको छ । हामीले यसमा सुधार गर्न तुरन्तै कदम चालेनौं भने धेरै ठूलो वर्गको यो संगठनप्रति मोहभंग हुने अब निश्चित भइसक्यो । यसै पनि अझै आलोचनात्मक दृष्टिकोण लिएर विदेशमा धेरै नेपाली साथीहरू संगठनबाट टाढै हुनुहुन्छ र सबै वर्गका गैरआवासीय नेपालीहरूलाई आबद्ध गर्न सकिएको छैन । यस्तोमा हाम्रो भूमिकाको बारेमा गहन छलफल गर्नु पर्ने सम्मेलन चुनाव केन्द्रित र बिभिन्न किसिमका उचित, अनुचित र असामयिक प्रभावको कैदी हुँदै गएको छ ।

    यस पटक पनि फेरि नेतृत्व चयन कै विवादले एउटा दुःखद परिस्थितिको सृजना भयो । विवाद समाधानका लागि पूर्व अध्यक्षहरू संलग्न उच्चस्तरीय समिति बनेको थियो । आम अपेक्षा विपरित त्यो समिति असफल त भयो नै हाम्रै बीचमा पनि धेरै समस्या रहेको देखियो । एक पूर्व अध्यक्षका नाताले म यसमा आत्मालोचना गर्छु र संलग्न सबैलाई त्यसै गर्न अनुरोध गर्छु । हामीले विधान परिवर्तन गरेर पूर्व अध्यक्षहरूको भूमिकालाई सीमित र नियन्त्रित गर्न आवश्यक छ भन्ने निष्कर्षमा म पुगेको छु । र नयाँ कार्यसमितिलाई त्यसै गर्न आग्रह गर्छु ।

    यस पटक प्रतिनिधि चयनमा देखिएको विवादले एकदमै अनपेक्षित र अप्रिय परिस्थितिको निर्माण भयो । अहिले बनेको कार्यसमितिका साथीहरूले आफ्नो कार्यकालभित्र विधानमा आवश्यक संशोधन गर्दै विवादरहित प्रतिनिधि चयनको प्रक्रिया अपनाएर संगठनलाई फेरि पुरानै लयमा फर्काउँदै पुनः आफ्नो उद्देश्यमा केन्द्रित गराउनु हुनेछ र संस्थाको गरिमालाई पुनर्स्थापित गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु । केही असमझदारीवश संघबाट चोइटिएर गएका साथीहरूको भावनालाई संबोधन गर्दै फर्काएर एकताको संदेश दिनु हुनेछ भन्ने पनि विश्वास लिएको छु । नयाँ कार्यसमितिका साथीहरूले यसैलाई आफ्नो कार्यकालको मूल जिम्मेबारी ठानेर काम गर्नु पर्नेछ । यद्दपि यो गहन जिम्मेबारी एउटा कुनै कार्यसमिति वा पदाधिकारीको मात्र होइन, गैरआवासीय नेपाली संघसँग जोडिएका हरेक सदस्यको हो भन्ने आत्मसात गरौं ।

    साथीहरू,
    इतिहासको निर्माण गर्न गाह्रो हुन्छ भन्ने हामीलाई थाहा थियो, तर त्यो इतिहासको गरिमालाई अक्षुण्ण राख्न ‍झन् गाह्रो हुने रहेछ भन्ने हाम्रो दुःखद अनुभवले देखायो । आऔं, आज हामी एउटा संकल्प गरौं । गैरआवासीय नेपाली संघको विधान र उद्देश्य अनुरुप यो संघलाई एक स्वतन्त्र, गैरराजनैतिक सामाजिक तथा परोपकारी संस्थाका रुपमा अक्षुण्ण राख्दै थप प्रभावकारी बनाउनका लागि सबै राजनितिक दलहरुसँग सहयोग मागौं, तर हस्तक्षेपकारी भूमिका निर्वाह नगरी दिनु हुन सामुहिक अनुरोध गरौं । उहाँहरूले पनि बुझ्नु भएको छ – एकतामा मात्र गैरआवासीय नेपाली समुदायको शक्ति छ ।

    र अन्त्यमा,
    यो संगठनको अस्तित्वको सारमा रहेको ‘नेपालीका लागि नेपाली’ भन्ने महान मन्त्रको उच्चारण गर्दै, सम्मेलन अवधिमा भोगेका नकारात्मक अनुभवलाई बिर्सेर आ-आफ्नो देशमा फर्केपछि एकता र भाइचाराको संदेश छर्न र संगठनमा अझ धेरै नेपालीको सहभागितालाई सुनिश्चित गर्न र नेपालको समुन्नतिको यात्रामा उत्साहका साथ जोडिन आह्वान गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु ।

    मातृभूमिको जय होस १ सबैको जय होस् !

    प्रतिक्रिया
    सम्बन्धित समाचार