उदयपुरको रौतामाई गाउपालिकाको बजेट ४७ करोड रुपैयाँ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार १०, २०७७

  • उदयपुर, १० असार, ०७७ । उदयपुरको रौतामाई गाउपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ४० लाख ६५ हजार रुपैयाँ अनुमानित बजेट गाउसभाबाट पारित गरेको छ । गाउपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली जस्ता कार्यक्रम घोषणा गरेको बताए । बजेट तथा योजनामा पूर्वाधार विकासका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।

    पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ भने दोस्रो प्राथमिकतामा आर्थिक विकासलाई राखिएको छ । आर्थिक विकासतर्फ १ करोड ८२ लाख विनियोजन गरिएको अध्यक्ष खड्काले बताए । ‘सामाजिक विकासतर्फ १ करोड ६८ हजार ९० लाख, वातावरण तथा विपद्तर्फ १ करोड ३० लाख, समपुरक कोषको लागि १ करोड २० लाख, कोभिड १९ नियन्त्रणका लागि १ करोड ११ लाख, सडक मर्मत ५० लाख बजेट विनियोजन गरिएको छ ।’ खड्काले बताए ।

    विदेशबाट फर्कि आएकाहरुका लागि युवा स्वरोजगार कार्यक्रमअर्न्तगत ५० लाख, गरिबी रेखामुनीकाको घरको छानो विस्तार गरी ४ बण्डलको दरले जस्तापाता दिनका लागि ३० लाख, विपन्न, दलित, आगो लागी प्रकोपलाई ४ वण्डलको दरले जस्तापाता दिन ३० लाख बजेट विनियोजन गरिएको छ ।

    पालिकाले नयाँ लोकप्रिय कार्यक्रमका रुपमा सुत्केरी महिलालाई गाउपालिका उपाध्यक्ष कोसेली कार्यक्रमका लागि ५ लाख, गाउपालिका अध्यक्ष विशेष सम्बोधन कार्यक्रमका लागि १० लाख बजेट विनियोजन भएको छ । जिल्लाका ८ स्थानीय तहमध्ये रौतामाई र ताप्लि गाउपालिकाले मात्र योजनासहितको पूर्ण बजेट ल्याएका हुन् । उनीहरुले दुई दिन लगाएर पूर्ण बजेट ल्याएका हुन् ।
    बाँकी ४ वटा त्रियुगा, चौदण्डी, बेलका नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउपालिकाले अनुमानित बजेटसहित नीति तथा कार्यक्रम मात्र ल्याएका छन् । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ अस्वस्थ रहेको र उदयुरगढी गाउपालिकाले भौगोलिक विकटताका कारण वडाभेला समयमा हुन नसकेको भन्दै केहि दिन भित्रमा पूर्ण बजेट ल्याउने गरी मिति सारेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार