तारकेश्वर गाउँपालिका अध्यक्ष उठ्ने तयारीमा एमाले केन्द्रीय सदस्य उषाकिरण


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २५, २०७८

  • काठमाडौँ, २५ चैत । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले नुवाकोटको तारकेश्वर गाउपालिका अध्यक्षमा उम्मेदवारी दिने बताएकी छन् । आउँदो वैशाख ३० मा हुने स्थानीय चुनावमा उनले तारकेश्वर गाउपालिका अध्यक्षमा उम्मेदवारी दिदै छिन् । ‘मैले पार्टीका कमिटीहरुमा दाबी प्रस्तुत गरेको छु ।’ तिम्सिनाले भनिन्, ‘मसँगै अरु साथीहरुको पनि दाबी छ । प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ ।’

    ‘मैले काम गर्ने र आफूलाई सक्षम प्रमाणित गरेर देखाउने ठाउ स्थानीय तह हो । त्यही भएर गाउपालिका अध्यक्षमा मेरो स्वभाविक दावी हो,’ उनले भनिन् । जनताको आधारभूत आवश्यकता कृषि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा परिवर्तनका लागि गाउपालिकाबाटै काम गर्न सकिने भएकाले अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताइन् । ‘आजको समस्या भनेको भ्रष्टाचार हो । सम्भाबना बोकेको क्षेत्र भनेको कृषि हो । कृषिमै केही गर्न सकियो भने समाज र देशका लागि  ठूलो कुरा हुन्छ,’ उनले भनिन् । अनेरास्ववियुको राजनीतिबाट पार्टी राजनीतिमा आएकी तिम्सिना एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

    तिम्सिनाले यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा पनि गाउपालिका अध्यक्षमा दाबी गरेकी थिइन् । उनी त्यतिबेला नुवाकोटको जिल्ला कार्यसमितिमा रहेकाले उनलाई गाउपालिका उपाध्यक्षको उमेदवार बन्न प्रस्ताव आएको थियो । तारेश्वर गाउपालिकामा एमालेका रमेशबहादुर वस्ती अध्यक्ष छन् । उनले नेपाली कांग्रेसका चोकराज शाक्यलाई झण्डै १ हजार मतले पराजित गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार