 
                            सुदूरपश्चिम, २६ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ । धनगढीमा शुक्रबार बसेको पाँच दलको बैठकले गठन गरेको कार्यदलमा नेपाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला इञ्चार्ज दीर्घबहादुर सोडारी, नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज हरि ज्ञवाली, राष्ट्रिय जनमोर्चाका जगतप्रकाश जोशी र जनता समाजवादीका होरीलाल चौधरी रहनुभएको छ ।
उक्त कार्यदलको बैठक यही चैत २७ गते पुनः बसेर चुनावी तालमेलका बारेमा थप छलफल गर्न लागिएको कांग्रेसका जिल्ला सचिव नृप सुनारले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी गठबन्धन गरेर जाने सहमति बनाएका पाँच दलबीच कुन पदमा कुन दलका व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने विषयमा तालमेल गर्न सकस भइरहेको ती दलका नेता तथा कार्यकर्ताले बताए । सहमति जुट्न सकस भइरहँदा गठबन्धन दलका नेता कार्यकर्तामा अन्योल सिर्जना भइरहेको छ । कांग्रेस जिल्ला सचिव सुनारले भन्नुभयो, “केन्द्रमा पाँच दलबीच भएको सहमतिबमोजिम जिल्लामा चुनावी गठबन्धन बनाएर कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको भए पनि सहमति जुट्न सकिरहेको छैन ।”
पाँच दलले चुनावी गठबन्धनको तयारी थालेपछि विपक्षी नेकपा (एमाले)ले पनि अन्य दलसँग चुनावी गठबन्धन गर्ने बारेमा छलफल गरिरहेको छ । पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलालीका सात तहमा एमाले, तीन तहमा कांग्रेस, दुईमा माओवादी केन्द्र र एक तहमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    