सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र ३०, २०७८

  • सुदूरपश्चिम, ३० चैत । ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा दुवै जनालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो । अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुवै जनालाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । दाहाल यसै वर्ष ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ शीर्ष स्थानमा पुग्न सफल भएका थिए ।

    वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा राजपुरासँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि परेका थिए । यस्तै वर्ष प्रशिक्षकको अवार्ड भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जिते । उनको प्रशिक्षणमा नेपालले लगातार दुईपटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । वर्ष युवा खेलाडीको अवार्ड फुटबलकी चन्द्रा भण्डारी, सुदूरपश्चिम आइकन (पुरुषतर्फ) फुटबलका कुवेर सिंह र सुदूरपश्चिम आइकन (महिलातर्फ)को अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जिते । यस्तै क्रिकेट प्रशिक्षक अर्जुन खड्कालाई मरणोपरान्त स्पेशल अवार्ड समर्पित गरिएको छ । खड्काले डेढ दशक क्रिकेट प्रशिक्षण गरेर खेलाडी उत्पादन गरेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्ड लालबहादुर खड्कालाई प्रदान गरिएको छ । उनकै प्रशिक्षणमा सुदूरपश्चिमले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको थियो ।

    उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारबाट पुरस्कृत गरिएको थियो । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई जनही रु २० हजारसहित ट्रफीबाट सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट