भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख २९, २०७९

  • लुम्बिनी, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसरमा आगामी जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।

    भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते भारतको सारनाथबाट हेलिकप्टरमा लुम्बिनी आउनुहुने कार्यक्रम छ । उहाँ लुम्बिनी बिहानको करिब ११ बजे आइपुग्ने लुम्बिनी विकास कोषले जनाएको छ । भारतीय प्रधानमन्त्री चढेको हेलिकप्टर र त्यससँगै आउने अन्य हेलिकप्टर अवतरणका लागि लुम्बिनीमा गुरुयोजनाअन्तर्गत अहिले धमाधम चार वटा हेलिप्याड निर्माणको काम चलिरहेको छ ।

    यस्तै लुम्बिनीका भित्री सडकमा सरसफाइ गरेर सौन्दर्य अभिवृद्धिको कामसमेत धमाधम भइरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । यस्तै नेपालका विशिष्ठ पाहुनाका लागि विद्युतीय सवारी चार्जिङ सटेशन नजिकै एउटा र होटल होक्केमा अस्थायी हेलिप्याड निर्माण गरिने तय भएको छ । यस्तै लुम्बिनीमा अहिले मायादेवी मन्दिरको रङरोगनको काम भइरहेको छ । मन्दिरको रङरोगनसँगै मन्दिरको सौन्दर्य अभिवृद्धिको काम गरिनेछ । भारतीय प्रधानमन्त्रीले मायादेवी मन्दिरमा बुद्धको पदचापमा पूजा गर्ने र पुष्प चढाउने कार्यक्रम रहेको छ ।

    यसका साथै मायादेवी मन्दिरसँगै रहेको अशोकस्तम्भमा उहाँले दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्रीको भ्रमणमा सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी ९स्पेशल प्रोटेक्सन गार्ड० बुधबार भारतीय वायुसेनाको विमानबाट लुम्बिनी आइपुगेको छ । यसका साथै भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका क्रममा सवारीका लागि भारतबाट बुधबार नै चार वटा गाडीसमेत आइपुगेका छन् । ती गाडी विमानबाट नै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा झारिएको थियो ।

    लुम्बिनीमा मायादेवी मन्दिरको पूजा तथा दीप प्रज्वलनपश्चात् यसअघि प्रधानमन्त्री मोदीका तर्फबाट भारतीय राजदूतले रोप्नुभएको बोधिवृक्षमा जनचेतना गर्ने कार्यक्रम रहेको सदस्य सचिव शाक्यले जानकारी दिनुभयो । यसैगरी भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेशन  (आइबिसी) मार्फत लुम्बिनीमा निर्माण गर्न लागेको बौद्ध विहारको प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

    लुम्बिनी विकास कोषले कोषको ९ नं गेट हुँदै विहार निर्माणस्थलसम्म पुग्नका लागि करिब ७०० मिटर लामो पक्कीबाटो निर्माण गरिरहेको छ । यसलगत्तै दुवै देशका प्रधानमन्त्रीको होटल पवनमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको सदस्य सचिव शाक्यले जानकारी दिनुभयो । होटलमा द्विपक्षीय भेटपश्चात् करिब १ बजे २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ मूल समारोहमा भारतीय प्रधानमन्त्री मोदी उपस्थित हुनुहुने कार्यक्रम रहेको विकास कोषले जनाएको छ । सदस्य सचिव शाक्यले यो भ्रमणले लुम्बिनीमा अब विश्वको ध्यान केन्द्रित हुने र भारतीय धार्मिक पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो । भारतीय धार्मिक पर्यटक अब लुम्बिनी हुँदै मुक्तिनाथको दर्शनका लागि प्याकेज बनाएर आउने उहाँको भनाइ छ ।

    २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ मूल समारोहलाई प्रधानमन्त्री देउवा र समकक्षी भारतीय प्रधानमन्त्री मोदीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्रीको यो लुम्बिनी भ्रमण नितान्त सांस्कृतिक भ्रमण रहेकाले यो भ्रमणले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो भ्रमणले लुम्बिनी र बुद्धसँग सम्बन्धित विभिन्न भ्रमलाई अन्तर्राष्ट्रियरूपमा चिर्नेसमेत विश्वास व्यक्त गर्नुभयो ।

    बुद्धको विचार सम्पूर्ण एशियामा साझा विचारका रूपमा स्थापित हुँदै गएको अवस्थामा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको विचारलाई थप बलियो बनाउन प्रचारप्रसार हुने विकास कोषका उपाध्यक्ष भिक्षु मैत्येय बताउनुहुन्छ । उहाँले भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि लुम्बिनी अब अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार