कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ ६, २०७९

  • काठमाडौँ, ६ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी हुनुभएको छ । कार्कीले ११ हजार ३२२ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिनुभयो ।

    विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख पदमा कृष्णहरि थापा निर्वाचित हुनुभएको थियो । एमाले फुटेपछि उहाँ नेकपा (एकीकृत समाजवादी) मा लाग्नुभएको हो । यसपटक पनि समाजवादीका तर्फबाट नगर प्रमुख पदमा लड्नुभएका थापा तेस्रो हुनुभयो । यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले नौ हजार ९७५ मतका साथ विजय हासिल गर्नुभएको छ ।

    उहाँलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र) का भोला चापागाईंले पाँच हजार ४२२ मत पाउनुभयो । नगरपालिकाको वडा नं १, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । वडा नं ६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जित्न सफल भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेस वडा नं २, ५, ७, ८ र ९ मा वडा अध्यक्ष जित्न सफल भएको छ ।

    नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । त्यसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमाले छ वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा मात्र जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार