निर्वाचनमा पार्टीको सफलता उत्साहका रूपमा लिनुपर्छ : मन्त्री झाँक्री


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १३, २०७९

  • काठमाडौँ, १३ जेठ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

    गुल्मी काठमाडौँ सम्पर्क मञ्चले शुक्रबार यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचनको समीक्षा कार्यक्रममा मन्त्री झाँक्रीले छोटो समयमा पार्टी र चुनाव चिह्न यति धेरै जनताका बीचमा पुग्न सक्नु र मत लिनुलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो । स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन अधिकांश ठाउँमा सफल भएको बताउँदै उहाँले निर्वाचनमा भएका केही कमी कमजोरीलाई शिक्षाका रूपमा लिएर आगामी सङ्घ र प्रदेशको निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

    गुल्मेली जनताको आफू अभिभावक बन्ने बताउँदै मन्त्री झाँक्रीले आफू गुल्मेली जनताको साथ सहयोगबाट लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि गुल्मेली जनताको प्रत्यक्ष जनमतबाट देश र जनताको सेवा गर्न आतुर रहेको उल्लेख गर्नुभयो । पार्टीको सचिवसमेत रहनुभएकी झाँक्रीले पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै गुल्मेली जनतालाई निराश हुन नदिने र आगामी सङ्घको निर्वाचनमा गुल्मीबाट आफू उम्मेदवार बन्ने घोषणा गर्नुभयो । गुल्मीको विकास र गुल्मेली जनताको जीवनस्तर उकास्ने आफ्नो प्रमुख काम भएको उहाँको भनाइ थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा गुल्मी इन्चार्ज गणेश खनाल, केन्द्रीय सदस्य प्रमेश पोखरेलका साथै स्थानीय नेताहरु शिव सुवेदी, समीर गौतम, दामोदर चालिसे, दयाराम पाण्डे, विक्रम जिएम, लक्ष्मण झाँक्री, जनक नेपालीलगायतले जिल्लाको स्थानीय तह निर्वाचनका बारेमा जानकारी गराउनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार