प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ६, २०७९

  • बागमती, ६ साउन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’ उहाँले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगत्ले कलम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजितरूपमै लाञ्छना लगाउनेक्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूूर्ण रहेको छ ।’

    कोभिड–१९ मा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने उल्लेख गर्नुभयो । लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार