लापरबाहीले कोरोना सङ्क्रमण बढ्दै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ९, २०७९

  • सुदूरपश्चिम, ९ साउन । कोरोना भइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयम्ले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताउनु भएको छ ।

    कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र सङ्क्रमित व्यक्तिबाट लापरबाही हुँदा पछिल्ला दिनमा सङ्क्रमण बढेको बताउनुभयो । मास्क लगाएर सङ्क्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन ।

    सीमानाका हुँदै नेपाल भित्रिने कोरोना पोजेटिभ बिरामीलाई सिधै होम आइसोलेशनमा पठाउने गरिएको छ । “हेल्थ डेस्कमा नमूना परीक्षणबाट कोरोना पोजेटिभ देखिने बिरामीलाई मास्क र स्यानिटाइजर उपलब्ध गराएर होम आइसोलेशनमा बस्नुपर्ने सल्लाह दिन्छौँ,” अहेब साउदले भन्नुभयो, “पोजेटिभ बिरामीको उपचार व्यवस्थापनका साथै सङ्क्रमण थप फैलिन नदिन सम्बन्धित पालिकाले चासो नलिँदा पनि रोकथाम हुन सकिरहेको छैन ।”

    धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेशन सेन्टर बन्द रहेको छ भने कोरोना रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन । नेपाली सेनामार्फत निर्माण भएको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको जनाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरोकारवालासँग छलफल गरेर कोरोना भाइरसको रोकथामको पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक दुई दिनभित्र सरोकारवालासँग बैठक राखेर रोकथामको प्रयास गर्न लागेका छौँ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार