पूर्वप्रधानमन्त्री कोइरालाको ८३ औँ जन्मजयन्ती


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन २७, २०७९

  • काठमाडौँ, २७ साउन । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८३ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९९७ साउन २७ गते जन्मनुभएका नेपाली कांग्रेसका पूर्व सभापति एवं विसं २०७२ को संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गर्नुभयो । राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उहाँको योगदान महत्वपूर्ण थियो ।

    स्व. नेता कोइरालाको स्मरणमा आज विभिन्न कार्यक्रम गरिने जनाइएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएका उहाँले सधैँ सत्यको वकालत गर्नाका साथै सादगी जीवनयापन गर्नुभयो । त्यसैको फलस्वरुप नेपाली जनताको २००७ साल देखिको चाहना बमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्व। नेता कोइरालाको कार्यकालमा पूरा भएको थियो । संविधान जारी गर्नुहुन्न भन्ने शक्तिकेन्द्रको तीव्र दबाबका बाबजुद उहाँको अडानले २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको बलले नेता कोइरालाले सफलता पाउनुभएको सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फाउन्डेसनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले आज जारी गर्नुभएको वक्तव्यमा आजको युगमा कोइरालाजस्ता इमान्दारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको उल्लेख छ । सरकारको नेतृत्वमा पुगेर पनि वेदाग फिर्ता हुन सक्नुले नेतृत्वगणलाई स्व नेता कोइरालाबाट शिक्षा मिल्ने वक्तव्यमा उल्लेख छ । कोइरालाले जीवनमा पु¥याउनुभएको योगदानको सम्झनामा फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । फाउन्डेसनको संरक्षकमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार