सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ ११, २०७९

  • काठमाडौँ, ११ भदौ । काठमाडौँ उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गर्नुभयो ।

    यसअघिको फोहर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ । केही दिनअघि कामपाका प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिनुभएको थियो ।

    प्रमुख साहको निर्देशनअनुरुप निजी कम्पनीले व्यवस्थापनको काम नियमित गरेपछि उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहर व्यवस्थापन भएको हो । कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखि अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।

    पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यही नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन उत्पादन हन्छ । अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार