युट्युबको भिडियो हेरेर नक्कली पैसा छाप्ने दुई पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ८, २०७५

  • काठमाडौं , फागुन ८ । काठमाडौँ –नक्कली पैसा छाप्ने दुईजना व्यक्तिलाई कास्की प्रहरीले समातेको छ। पोखरा महानगरपालिका ५ पर्स्याङस्थित डेरामा नक्कली नोट बनाइरहेको अवस्थामा कास्की प्रहरीले हटौंडा उपमहानगरपालिका ९ का ३३ वर्षीय नरेश लामा र हेटौडा १ बस्ने २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो।

    पोखराको वडा प्रहरी कार्यालय बगरबाट खटिएका प्रहरी निरीक्षक दीपक थापाको टोलीले नक्कली रुपैयाँ, नगद र रिचार्ज कार्डसहित नक्कली नोट छाप्ने दुबैजनालाई मुद्रा सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए।

    पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक सय रुपैयाँको रिचार्ज कार्ड किन्दा एक हजारको नोट दिई ८ सय फिर्ता लगी ग १४ प ३५४ नम्बरको मोटरसाइकलमा आएका एक युवा र एक युवती पोखरातिर लागेका थिए। रिचार्ज कार्ड किन्दा दिएको एक हजार रुपैयाँ नक्कली हो भन्ने थाहा भएर जिल्ला प्रहरी कार्यालयमा सूचना आएपछि अनुसन्धानका क्रममा पोखराको पर्स्याङमा नक्कली नोट बनाउँदै गर्दा २ जना पक्राउ परेको प्रहरीले बताएको छ।

    प्रहरीले पक्राउका क्रममा १ हजारका १९ थान नक्कली रुपैयाँ पनि बरामद गरेका छ। यस्तै प्रहरीले एउटा ल्यापटप, कलर प्रिन्ट एउटा, मोबाइल २ थान, १ लाख २८ हजार ४ सय ४० नेपाली रुपैयाँ, भारतीय १ हजार रुपैयाँ, एउटा मोटरसाइकल पनि बरामद गरेको बताएको छ।

    प्रहरी अनुसन्धानका क्रममा पुस २७ गते मकवानपुरबाट पोखरा आएका उनीहरुले युट्युबबाट नक्कली पैसा बनाउने भिडियो हेरी सोही अनुसार नक्कली नोट बनाएको बताएको प्रहरीले बताएको छ।

    पोखराका विभिन्न ठाउँमा करिब २ सय बढी ठाउँमा महिला र केटाकेटी भएका पसलमा गई नक्कली पैसा दिई सामान किनेको पनि बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार