आफ्नै नातिनीको भातमा विष मिसाएर हत्या


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ९, २०७५

  • काठमाडौं , फागुन ९। काठमाडौँ –हजुर बा हजुरआमा वालवालिकाको सबै भन्दा नजिकका अभिभावक हुन् । कतिपय बाबु आमा आफ्ना छोरा छोरी हजुरबा हजुरआमाको जिम्मा लगाएर काममा जान्छन् । बा आमाले भन्दा धेरै माया गर्ने हजुर बा हजुरआमा धेरै छन् यो मुलुकमा । कतिपय हजुरआमा यस्ता पनि भेटिए जसले आफ्नै हातले भातमा विष मिसाएर खुवाउन पनि पछि परेनन् ।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए ।

    बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको बताएकी छिन् । तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

    मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उनले बताउनुभयो । दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार