नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साह भन्छन्, – मतदाताको सम्मानका लागि निरन्तर काम गरेको छु


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक २३, २०७९

  • सर्लाही, २२ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धनबाट सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साहले आफू सधैँ विकास र सम्बृद्धिका लागि केन्द्रीत हुने बताए । आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधीसभाको चुनावका लागि प्रचारप्रसार कार्यक्रमलाई उनले तिब्रता दिईरहेका छन् ।

    सर्लाहीको हरिवनस्थित वडा नम्बर ८ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता साहले आफू सर्लाही ३ को मुहार फेर्न लागेको बताए । ०७४ मा स्वतन्त्र उम्मेदवारी दिएर गुलाब चिन्हमा चुनाव लडेका साहले यसपाली नेकपा माओवादी केन्द्रबाट टिकट पाएका हुन् । ‘०७४ मा मैले स्वतन्त्र रुपमा चुनाव लडें । ५१ वटा वडामा मत माग्न पुग्दा स्थानीयवासीहरुले आफ्नो क्षेत्रका समस्याहरु समाधानका लागि आग्रह गर्नु भएको थियो ।’ साहले थपे, ‘मैले चुनाव त जित्न सकिन । तर, मतदाताहरुको सम्मानका लागि निरन्तर काम जारी गरें । मैले बोलेका कुराहरु ८० प्रतिशत पूरा गरेको छु ।’ कोरोना महामारीका कारण बाँकी काम रोकिएको उनले बताए ।

    पाँच दलिय क्षेत्र नम्बर ३ (क) प्रदेश स्तरीय चुनाव केन्द्रीत वृहत वडा भेला कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज गणेश साह, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साह, लोकतान्त्रिक–बाम गठबन्धनबाट सर्लाही क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेश सभाका उम्मेदवार तथा नेकपा (एकिकृत समाजवादी) का डिल्लीप्रसाद उप्रेती, अतिथि पूर्व मन्त्रि एवं नेकपा माओवादी केन्द्रका नेता रामेश्वर राय, लोकतान्त्रिक–बाम गठबन्धनबाट सर्लाही क्षेत्र नम्बर ३ ‘ख’ बाट प्रदेश सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता हरेशप्रसाद महतो लगायत अन्य नेताहरुको उपस्थिीति रहेको थियो ।
    २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसबेला उनी नेकपा माओवादी केन्द्रका रामेश्वर रायसँग पराजित भएका थिए । रामेश्वरले २२ हजार ३६७ मत ल्याएका थिए भने साहले १२ हजार ८६ मतसहित तेस्रो भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार