काठमाडौं ३ मा रोचक प्रतिष्पर्धा, कसको छ कस्तो अवस्था ?


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक २८, २०७९

  • काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि त्रिपक्षिय भिडन्त हुने भएको छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा रहेको भएपनि मुख्यतः ३ जनाबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

    नेकपा एमाले, नेपाली कांग्रेस र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई यो क्षेत्रमा कडा प्रतिष्पर्धीका रुपमा हेरिएको छ । यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट निवर्तमान सांसद कृष्ण राई, नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सामाजिक अभियन्ताको समेत पहिचान बनाएका उद्योगी दुर्गाबिक्रम थापा चुनावी प्रतिष्पर्धामा छन् । २३ जना उम्मेदवारमध्ये ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

    देशका विभिन्न क्षेत्रमा झैं यो क्षेत्रमा पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौतीका रुपमा देखिएको छ । अन्य क्षेत्रमा माओवादी र कांग्रेसका बीच गठबन्धन भइरहँदा यो क्षेत्रमा कांग्रेस र माओवादीका उम्मेदवार एक्लाएक्लै लडेका छन् । उनीहरुबीचको प्रतिष्पर्धाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लाभ मिल्ने विश्लेषण यो क्षेत्रमा भइरहेको छ ।

    नेकपा एमालेले अघि सारेका उम्मेदवार यसअघि सांसद भइसकेको र कांग्रेसका उम्मेदवार नगर प्रमुखका रुपमा टेष्टेड भइसकेका कारण पनि यो क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दुर्गाविक्रम थापालाई बलिया उम्मेदवारका रुपमा लिइएको छ । भ्रष्टाचार निवारण, आर्थिक समृद्धि लागयतका एजेण्डा सहित थापा चुनावी मैदानमा उत्रिरहँदा हिजो गरेका कामका आधारमा आफूलाई मत दिन कांग्रेस र एमालेका उम्मेदवारले मतदातासँग आग्रह गरिरहेका छन् । त्यसो त राप्रपा, जसपा र स्वतन्त्र तर्फका उम्मेदवारले पनि यो क्षेत्रमा ठूला दललाई चुनौती दिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार