संस्कृति विज्ञ तथा पूर्व प्राज्ञ यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ पुस्तक आउँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर १४, २०७९

  • काठमाडौँ । सुदूरपश्चिमका प्रख्यात संस्कृति विज्ञ, गायक तथा पूर्व प्राज्ञ यज्ञराज उपाध्याय अब लेखकका रुपमा उदाउने भएका छन् । २०५५ सालदेखीको अध्ययन अनुसन्धान गरेर तयार पारिएको काली कर्णालीको लोक साहित्य तथा संस्कृति अब केही महिनाभित्रै प्रकाशित हुने भएको छ ।

    सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका सबै जिल्ला घुमेर लामो समय अध्ययन, अनुसन्धान गरेर उपाध्यायले काली कर्णालीको लोक साहित्य तथा संस्कृति तयार पारेका हुन् । यसमा सुदूरपश्चिमका लोकबाजा, चाडपर्व, गीतसंगीत, लोकनृत्यबारे बृहत रुपमा समेटिएको छ । देउडा, डेउडा, न्याउल्या लगायत धमारी, गौरा, भुव, छलिया, भैनी, भारी खेल, ठाडी खेल, ढुस्को जिउना पुरी लगायत लोप हुदै गएका चाडपर्वबारे ब्याख्या गरिएको छ । विवाह गरी माइती घर छोड्न बेला चेलीहरुको रुवाई, कसैको मृत्युमा हुने रुवाईबारे पनि समेटिएको छ । यस्तै भजन, टुक्का, हुड्केली, झुराउनी, गाली, जिउती परम्परा, तन्त्रमन्त्र (लोकमन्त्र), ब्यासी सौकाका चाडपर्वहरुबारे बिस्तृतमा समेटिएको छ । डगौरा थारुका चाडपर्व, काली कर्णालीका प्रचलित बाजाहरुबारे पनि ब्याख्या गरिएको छ ।

    यस काली कर्णालीको लोक साहित्य तथा संस्कृति  ग्रन्थलाई साहित्यकार तथा शिक्षासेवी सुभाषचन्द्र भण्डारीले मिहिनेतपूर्वक सम्पादन गरिरहेका छन् । कम्तीमा १ हजार पेज रहने अनुमान गरिएको यो पुस्तक सङ्ग्रहणीय हुनेछ । लोकसाहित्य र संस्कृति विषयको अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि निकै उपयोगी सामग्रीहरू यस पुस्तकमा सङ्गृहीत रहेको सम्पादन गरिरहेका भण्डारीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट