‘खेलकुदका गतिविधि बढाउनुपर्छ’


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर २६, २०७९

  • भजनी, २६ मङ्सिर । कैलालीको टीकापुरका गजेन्द्र शाही (गज्जु) फुटबलका लागि निकै लोकप्रिय नाम हो । सानै उमेरदेखि फुटबल खेलमा निपुण हुँदै जानुभएका उहाँको ऊर्जावान समय खेलकुदमै बित्यो । उहाँले मेयरकपबाट फुटबल खेल सुरुआत गर्नुभएको थियो । तत्कालीन समयमा टीकापुरका लागि मेयर कप निकै महत्वपूर्ण खेलकुद प्रतियोगिताको रुपमा चिनिन्थ्यो ।

    उहाँले फुटबल खेल्दै जाँदा थुप्रै फुटबल प्रतियोगिता खेल्ने अवसर पनि पाउनुभयो । शाहीले ए डिभिजन लिगसम्मको फुटबल यात्रा पु¥याएको बताउँदै सुदूरपश्चिमलाई मेडल जिताउन सफल भएको बताउनुभयो । “२०७१ मा सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेको थिए । मुख्यमन्त्री कपको सुदूरपश्चिमको कप्तनी गर्ने अवसर पनि पाए ।” शाहीले भन्नुभयो, “पाँच वर्षदेखि सुदूरपश्चिमको कप्तानको रुपमा काम गरे । मेरा लागि खेलकुद सुखद् र दुःखद् दुवै रह्यो ।”

    खप्तड गोल्डकप २०७६ को उपाधि पनि शाहीले कप्तानी गरेको टिमले हात पार्न सफल भएको थियो । उहाँ पहिलेका खेलकुदका गतिविधि हेर्ने हो भने अहिले खेलकुद क्षेत्र स्थानीय क्षेत्रबाट हराउँदै गएकोजस्तो देखिएको बताउनुहुन्छ । टीकापुरलाई चिनाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभएको छ । शाही खेलबाट भविष्य सुनिश्चित नभएकै कारण होटल व्यवसाय सञ्चालन गर्दै पनि आउनुभएको छ ।

    कैलालीको जानकी गाउँपालिका खैरिफाटका विष्णु भाट १७ वर्षको उमेरदेखि भलिबल खेल सुरु गर्नुभयो । सानैमा गाउँमा मोजा भित्र कागजका टुक्रा हालेर भकुण्डो भनाएर खेल्न सुरु गर्नुभएका भाटले २०५७ मा पहिलो भलिबल प्रतियोगिता गाविसस्तरीय खेल्नुभएको थियो । त्यसभन्दा पछि उहाँ क्षेत्रीय हुँदै राष्ट्रियस्तरको खेलमा समेत थुप्रै खेल खेल्नुभयो । त्यति मात्र नभई सुदूरपश्चिमबाट राष्ट्रिय कप्तानको अवसरसमेत पाउनुभएका भाटले खेल जीवनबाट सन्यास लिसक्नुभएको छ । “खेल पनि एक नशाजस्तै हो । जहाँ भविष्य छैन भन्ने थाह पाउँदापाउँदै पनि लागि सकेपछि छोड्न सकिँदैन ।”

    विष्णुले भन्नुभयो, पहुँचकै आधारमा खेलाडीले अवसर पाउँछन् । राम्रो सम्भावना भएको खेलाडी अहिले पनि ओझेलमा परेका छन् ।” उहाँले खेलकुद मैदानकै अभावमा समुदायस्तरमा रहेका थुप्रै खेलाडीले अवसर पाउन नसकेको बताउनुभएको छ । उहाँले स्थानीय सरकारले पनि खेलकुद क्षेत्रको विकासका लागि काम गर्न नसकेको बताउनुभयो ।

    टीकापुरको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयका पुर्व शिक्षक अर्जुन ठकुल्लाको खेलकुद क्षेत्रमा ठूलो योगदान छ । सेपेकताक्रो खेलका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहनुभएका ठकुल्लाले थुप्रै खेलाडीलाई उत्प्रेरणा दिनुभएको मात्रै छैन आफ्नै खर्चमा समेत कैयौँ प्रतियोगितामा सहभागिता जनाउन पुग्नुभएको छ । टीकापुरबाट एथलेटिक्समा सिमा चौधरी, सेपेकताक्रोमा गङ्गा चौधरी, मुकुन्द गौतमलाई राष्ट्रियस्तरको खेलमा सहभागी गराई उपाधि जिताउन सफल हुनुभएका ठकुल्ला आर्थिक अवस्थाका कारणले कैयौं खेलाडी विस्थापित हुँदै गएको बताउनुहुन्छ ।

    “थुपै खेलाडीमा सम्भावना छन् तर आर्थिकले तिनलाई खेल क्षेत्रमा बन्देज बनाइदिएको छ । सरकारले खेलकुदमा लगानी गर्दैन ।” ठकुल्लाले भन्नुभयो, “स्रोतसाधनको अभाव, स्थानीय सरकारको उदासिनताले पनि खेल क्षेत्र अगाडि बढ्न सकेको छैन भने कैयौँ प्रतिभा भविष्य सुनिश्चित नदेखेकै कारण पनि आउन सकेका छैनन् ।”

    उसो त टीकापुर क्षेत्रमा खेलकुदको निकै सम्भावना छ । टीकापुरमा २२ बिघा जग्गा खेलकुदको नाममा छ् । टीकापुर खेलकुद विकास समितिको नाममा रहेको उक्त जग्गा यतिबेला गौचरनमा परिणत छ । करोडौँ बजेट खर्च हुँदा पनि खेलकुद मैदानलाई सञ्चालनमा ल्याउन सकिएको छैन । बर्सेनि बजेट आउने तर टुक्रे बजेटले कुनै काम पूरा नहुँदा टीकापुरमा खेलकुद मैदानको अभावमा खेलकुदका गतिविधि अगाडि बढ्न सकेका छैनन् ।

    स्रोत हुँदाहुँदै पनि त्यसको योजनाबद्ध रुपमा काम हुन नसक्दा कैयौँ खेल क्षेत्रमा आफ्नो भविष्य देखेका विस्थापितको अवस्थामा पुगेका छन् । टीकापुर नगर खेलकुद विकास समितिको नाममा रहेको जग्गा उपयोगका लागि स्थानीय सरकारले पनि कुनै ठोस योजना ल्याउन सकेको छैन । नगर खेलकुद विकास समिति पनि निकै निष्क्रिय छ ।

    खेलकुद मैदानकै अभावमा खेलाडी खेलकुदका गतिविधिबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भलिबल खेलाडी लोकेन्द्र साउँद बताउनुहुन्छ । “टीकापुरमा खाली जग्गा जति पनि छ । त्यसलाई थोरै लगानी गरेर खेलकुद मैदानको रुपमा विकास गर्न सकिने भए पनि त्यो हुन सकेको छैन ।” साउँद भन्नुहुन्छ, “बिना तयारी कुनै प्रतियोगितामा जाँदा परिणाम आफू अनुकूल आउँदैन ।”

    गत वर्ष टीकापुर नगरपालिकाले कभर्डहलमा निर्माणका लागि तत्कालीन नगर प्रमुख तपेन्द्रबहादुर रावलले शिलान्यास गर्नुभएको थियो । नगर विकास समितिको रु दुई करोड बजेटबाट कभर्डहल निर्माणको कार्य प्रारम्भ गर्ने भनिए पनि बजेट व्यवस्थापन नहुँदै शिलान्यास भएको कभर्डहल निर्माण नै हुन सकेको छैन । चालु आर्थिक वर्षमा पनि कभर्डहल निर्माणका लागि बजेटको व्यवस्थापन नभएको नगरपालिकाकी लेखा प्रमुख लक्ष्मण ओड बताउनुहुन्छ ।

    नगरपालिकाले चालु आवमा करिब रु ३० लाख बजेट खेलकुदका लागि छुट्याएको छ । सोमध्ये रु १५ लाख नगरस्तरीय मेयर तथा उपमेयर कपका लागि छ छ भने बाँकी अन्य स्थानीय तहमा हुने प्रतियोगिताको लागि भनिएको छ । नगर प्रमुख रामलाल डङ्गौरा थारुले खेलकुद क्षेत्रको विकासका लागि निकै गम्भीर रहेको बताउनुभयो । “खेलकुद प्रतियोगिताका लागि नगरपालिकाले पर्याप्त बजेटको व्यवस्था गरेको छ । संरचना निर्माणको लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।” नगर प्रमुख थारुले भन्नुभयो, “खेलकुदको विषयमा हामी गम्भीर छौँ । म आफँै पनि खेलाडी भएकाले खेलाडीलाई अब निराश हुने अवस्था रहन दिने छैन ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार