हास्य टेलिसिरियल ‘सक्किगोनि’ ले सोलुखुम्बुमा मनायो १०० औँ भाग, पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस १२, २०७९

  • सोलुखुम्बु । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ ले सिजन २ को १०० औं भाग पुगेको उपलक्ष्यमा सोमबार सोलुखुम्बुमा विशेष कार्यक्रमको आयोजना गरेको छ । राजधानीबाट गएका झण्डै ६० जना कलाकार तथा प्राविधिकको टोलीमा सञ्चारकर्मीहरुको पनि उपस्थिीति रहेको छ ।

    सोलुखुम्बुको दुधकुण्ड नगरपालिकास्थित सुन्दर पर्यटकिय स्थल गौरीटापमा ‘सक्किगोनि’ ले १०० औं भाग पुगेको उपलक्ष्यमा सेलिब्रेसन कार्यक्रम आयोजना गरेको थियो । ‘सक्किगोनि’ टेलिशृंखलालाई बिभिन्न माध्यमबाट सहयोग पुर्‍याउने कलाकार, प्राविधिक, सञ्चारकर्मी लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

    ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं, देश घुमौं’ नारा दिएर ‘सक्किगोनि’ टिमले सोलुखुम्बुबाट पर्यटन प्रवर्द्धनको यात्रा सुरु गरेको छ । ‘देशमा सोलुखुम्बु जस्तै थुप्रै रमणिय पर्यटकिय स्थलहरु छन् । हामी बिस्तारै देशका बिभिन्न क्षेत्रमा पुग्नेछौं ।’ ‘सक्किगोनि’ का एक प्रमुख कलाकार, स्क्रीप्ट लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री) ले भने, ‘नेपाली कलाकारहरुले नेपाल घुम्नुपर्छ । नेपाल चिन्नुपर्छ । स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ ।’ सोलुखुम्बुको पत्ताले आफैमा राम्रो ठाउ भएको र यसको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भाबना रहेको कलाकार कट्टेलले बताए ।

    ‘सक्किगोनि’ का कलाकार, स्क्रीप्ट लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) ले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा १०० औं भागको विशेष कार्यक्रमको आयोजना गरिएको बताए । यसपछि क्रमशः नेपालका बिभिन्न जिल्लाहरुमा पुगेर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताए । शहरी क्षेत्र भन्दा अलि विकट, पिछडिएका, दुर्गम र पर्यटकिय क्षेत्रमा पुगेर कार्यक्रम गर्ने उनले बताए । ‘यो हाम्रो खुसीको दिन हो ।’ यस्तै ‘सक्किगोनि’ का अर्का कलाकार हरि निरौला (जिग्री) ले सिजन २ को १०० औं भाग पुगेको उपलक्ष्यमा आफ्नो अनुभुति साँटे, यो ऐतिहासिक कार्यक्रम हो । मुलुकको पर्यटन प्रवर्द्धनका लागि यो हाम्रो सुरुवात हो । सबै कलाकारहरुलाई आग्रह छ, पर्यटन प्रवर्द्धन गरेर नेपाललाई चिनाउन सघाउनुहोस् ।’

    ‘सक्किगोनि’ को १०० औं भागको विशेष कार्यक्रमलाई दौरा सुरुवाल सहितको पोशाकका लागि सुट्माला र थ्रेड गार्मेन्टले सहयोग गरेका थिए । यस्तै कार्यक्रमलाई ग्रान्डी हस्पिटल, रन सुज्, केआरडी ज्वेलर्स, राजधानी दोहोरी, नागेश्वरी क्रियसन, सोलु दुधकुण्ड नगरपालिका, हिमाल एफएम, टानका अध्यक्ष निलहरी बास्तोला, समाजसेवी प्रकाशसिंह कार्की र यातायातका लागि नबिन बानिया, रामप्रसाद गौतमले प्रायोजन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार