बागमती प्रदेशमा ज्येष्ठ सांसदलाई पद तथा गोपनीयताको शपथ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १३, २०७९

  • हेटौँडा, १३ पुस । बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउनुभएको हो । ढुङ्गाना नेकपा (माओवादी केन्द्र)का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

    निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरणअनुसार उहाँको जन्म २००६ साल असोज २ गते भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुङ्गानाले सभाको अध्यक्षता गर्नुहुनेछ ।

    प्रदेशसभामा निर्वाचित बाँकी प्रदेशसभा सदस्यको शपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौँडामा राखिएको छ । बाँकी सदस्यलाई ज्येष्ठ सदस्य ढुङ्गानाले शपथ गराउनुहुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट