शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २२, २०७९

  • पर्वत, २२ पुस । दुई प्रदेश र तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन तीनवटै जिल्लाका सरोकारवालाले चासो देखाएका हुन् ।

    तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, सङ्गमस्थलका पालिकाका प्रमुख तथा सरोकारवालाले भेला भएर शालिग्राम शिला तथा सेतीवेणी क्षेत्रलाई संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा अवस्थित सेतीवेणी बजार तथा शालिग्रामको संरक्षण, बजार एवं बस्ती व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वपक्षीय भेला गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    “यस क्षेत्रको संरक्षणका लागि प्रदेश तथा केन्द्रीय सकारसँग समन्वय गरेर बृहत् योजना तयार गर्ने तथा धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने विभिन्न निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो । शिलाको दर्शनका लागि देश तथा विदेशबाट हिन्दूधर्मावलम्बी आउने गरेका छन् । पर्वत र स्याङ्जाको सिमाना रहेको सेतीखोलाले धार परिवर्तन गरेपछि शिला जोखिममा परेको छ । “पछिल्लो समय गुल्मीको भागतर्फ कालीगण्डकीले बालुवा थुपारेका कारण पनि शिलाको आडैबाट नदी बगिरहेको छ”, विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले भन्नुभयो, “शिला र दशनार्थी घुम्ने ठाउँ जोखिममा छ ।”

    वर्षायाममा कालीगण्डकी नदीमा पानीको सतह बढ्दा शिलालाई नै कैयौँ दिनसम्म डुबाउने गरेको छ । शिलाको परिक्रमास्थल भत्किएको वर्षाैँ भएको छ । अहिलेसम्म मर्मत हुनसकेको छैन । कुन जिल्लाले मर्मत गर्ने र संरक्षण गर्ने भन्नेबारे अन्योल हुँदा यसको उचित संरक्षण र संवद्र्धन हुन नसकेको स्थानीय सुनकुमारी भट्टराईले बताउनुभयो ।

    बाढीका कारण यहाँका स्थानीयवासी वर्षाको समयमा सधैँ त्रासमा रहन्छन् । यसको दिगो समाधानका लागि योजना बनाउन लागिएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । “स्थानीय तहको बजेटले मात्रै यसको संरक्षण सम्भव छैन, त्यसैले बृहत् गुरुयोजना निर्माण गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

    स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले तीन जिल्लाको सङ्गमस्थल भएकाले तीनवटैको सहकार्यमा यस क्षेत्रको समस्या समाधान गर्न आफूहरू सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सेतीवेणी शिलामा वर्षाको समयमा क्षति नपुग्ने गरी बनाउन जरुरी छ । त्यसका लागि स्थानीय तहको सक्रियतामा विस्तृत योजना बनाउनतर्फ हाम्रो ध्यान गएको छ ।”

    शालिग्रामको संरक्षणका लागि तटबन्ध तथा संस्कृति जोगाउन पौवा बनाउने योजना गल्याङ नगरपालिकाको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्री, गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले संयुक्तरूपमा शिला शालिग्रामको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्याङ्जाका समन्वय समितिका संयोजक श्रीप्रसाद जिटी, पर्वत समन्वय समितिका संयोजक विष्णुराम विकलगायतले पनि तीनवटै जिल्ला मिलेर शिलाको संरक्षणमा काम गर्ने सहमति भएको बताउनुभयो ।

    कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना निर्माणका क्रममा बनाइएको बाँधका कारण पनि शिला शालिग्रामको दर्शन गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, “स्टिमरको यात्राले शालिग्रामको महत्व झनै बढेको छ, घुम्न आउनेको सङ्ख्या पनि बढ्दो छ ।” हिन्दू धर्मावलम्बीले शालिग्राम शिलालाई भगवान् विष्णुको अवतारका रूपमा पूजा गर्ने गर्दछन् । शालिग्राम शिलामा हरिशयनी, हरिबोधनी एकादशी, माघे सङ्क्रान्ति, वैशाखे सङ्क्रान्ति र बालाचतुर्दशीमा ठूलो मेला लाग्छ । पछिल्लो समय भारतीय तीर्थयात्री आउने क्रम बढ्दो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार