‘धनकुटा कफी’ बजारमा, जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, माघ ८, २०७९

  • डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो ।

    विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । रु एक करोड ५० लाखको लागतमा एक सय २० रोपनीमा कफीखेती सुरु गरेको इन्डस्ट्रिजले यो हप्ताबाट क्याकेजिङ कफीको सुरुआत गरिएको सञ्चालक टीकाराम दर्नालले जानकारी दिनुभयो ।

    दुई सय ५० ग्रामको बजार मूल्य रु छ सय ५० पर्ने अरबिका जातको आग्र्यानिक कफी बजारमा ल्याइएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा राखिएको यो कफी सबैले मन पराएर खाएको सञ्चालक दर्नालले सुनाउनुभयो । लगानी अभावका कारण हाललाई रु दुई लाख ५० हजारको लगानीमा दुई सय केजीबाट परीक्षण उत्पादन सुरु गरिएको अर्का सञ्चालक युवराज दर्नालले जानकारी दिनुभयो ।

    “यो हाम्रो उत्पादन प्रदेश नं १ कै पहिलो अग्र्यानिक कफी हो”, उहाँले भन्नुभयो । आफ्नो खेतीको पूर्ण उत्पादन प्रशोधन गरेर बजारमा ल्याउन डेढ करोड लगानीको आवश्यकता रहेको भए पनि लगानी अभावका कारण अहिले काठमाडौँमा प्याकेजिङ गरेर कफी बजारमा ल्याउनुपरेको दर्नालले दुःखेसो गर्नुभयो ।

    हाल १५ टन चेरी (फल कफी) उत्पादन गरेर पाचमेन (बोक्रो उकाएको कफी) तयार पारेर काठमाडौँ पठाउने इन्डस्ट्रिजले अबको दुई वर्षमा २५ टनभन्दा बढी उत्पादन गर्ने युवराजले जानकारी दिनुभयो ।

    एनआइसी एसिया बैंकको रु १० लाख, माछापुच्छ«े बैंकको रु पाँच लाख, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको रु चार–चार लाख र बाँकी निजी लगानीमा कफीखेती गरेको इन्डस्ट्रिजले वार्षिक रु ३० लाख बराबरको चेरी (दाना कफी) बेच्ने गरेको छ ।

    हाल लगानी वर्ष चलिरहेकाले वार्षिक रु ४५ लाखभन्दा बढी खर्च भइरहेको बताउनुहुँदै सञ्चालक युवराजले अबको दुई वर्षपछि भने रु तीन करोड बराबरको चेरी उत्पादन गरेर बिक्री गर्ने जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार