सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ २५, २०७९

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ ।

    प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको जानकारी दिनुभयो । प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लाग्नुभएको हो । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

    सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे हालसम्म टुङ्गो लागेको छैन । रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन ।

    नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताउनुभयो । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । एमालेका युवा नेता एवं प्रदेशसभा सदस्य धर्मराज पाठकले भने मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का दश, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य हुनुहुन्छ । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार