क्रिस्टियानो रोनाल्डो बालोन डी’ ओरका हकदार : रुनी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४ । काठमाडौँ –म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायने रुनीले बालोन डी ओरका लागि उनको मत पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई जाने प्रष्ट पारेका छन् ।

    यो वर्षको बालोन डी ओर रियल म्याड्रिडका लुका मोड्रिचले जितेका थिए । लगातार तीन पटक च्याम्पियन्स लिग जितेका कारण पनि रोनाल्डोले बालोन डी ओर जित्नु पर्ने रुनीको धारणा छ ।

    मोड्रिचले बालोन डी ओर अघि फिफा उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए । रसियामा भएको विश्व कपमा क्रोएसियालाई फाइनल सम्म पुर्याउन मोड्रिचले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रियलले लगातार तीन च्याम्पियन्स लिग जित्दा मोड्रिच पनि त्यसको सदस्य थिए ।

    थुप्रै समर्थक, खेलाडीहरुको जस्तो रोनाल्डोले बालोन डी ओर जित्नुपर्ने मत रुनीको छ । यद्दपी मोड्रिच विश्वकपमा उत्कृष्ट खेलाडी रहेको उनले स्वीकारे । ‘लुका प्रतिभावान खेलाडी हुन् । मलाई लाग्छ उनको पास दिने तरिका गज्जब छ । उनले बललाई पनि राम्ररी अघि बढाउछन्,’ रुनीले भने,’  हेर्दा उनी त्यस्तो तीब्र गतिका देखिदैनन् । तर उनीसँग खेल्न सहज छैन । उनी उत्कृष्ट खेलाडी हुन् र उनको खेल जीवन सफल छ । ‘

    मोड्रिच विश्व कै उत्कष्ट खेलाडी हुन् भन्ने नलाग्ने पनि रुनीले प्रष्ट पारेका छन् । ‘वर्ष भरीको प्रदर्शन हेर्दा लाग्छ’ , उनले भने, ‘पक्कै हो । रियलमा उनको यो वर्ष राम्रो रह्यो । त्यस्तै क्रोएसियाको कप्तानका रुपमा पनि उनले राम्रो गरे ।’ आफुले भोट गर्ने हुँदा रोनाल्डोलाई भोट दिने पनि रुनीले प्रष्ट पारेका छन् ।

    रोनाल्डो यहि सिजनको सुरुवातमा रियलबाट युभेन्ट्स पुगेका थिए । च्याम्पियन्स लिगका सफल खेलाडी रोनाल्डो यसपटक फरक टोलीबाट छन् । उनको टोली अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडसँग पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार