काठमाडौँ, १८ फागुन । आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ ।
युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।
प्रतियोगितामा नेपालले यसअघि खेलेका चार वटै खेलमा विजयी भएको थियो । नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो ।
युएईले पनि सिङ्गापुर, कुवेत, हङङकङ र मलेसियालाई पराजित गरेको छ । नेपाल र युएईबीचको विजेताले यू-१९ विश्वकपको यात्रा तय गर्नेछ । नेपालको प्लेईङ–११ मा कप्तान देव खनालसहित आकाश त्रिपाठी, दीपक बोहरा, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी र उत्तम थापा मगर छन् ।