रुपन्देहीमा भारतीय मजदुरलाई जिउँदै जलाउने प्रयास


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ –रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एक भारतीय नागरिकलाई जिउँदै जलाउने प्रयास भएको छ । नेपालमा मजदुरी गर्दै आएका भारतीय नागरिक करिब ६० वर्षीय सिसु धुवालाई शुद्धोधन गाउँपालिका-१ को सिगापुरमा जलाउने प्रयास भएको हो । उनी बिनयपुर खोलामा काम गर्ने मजदुर हुन् ।

    दानव नदीको छेउमा सुतिरहेका उनलाई मदिरा पिएका स्थानीय युवाले जलाउने प्रयास गरेको वाड नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले बताए । प्रहरीले घटना सामान्य रहेको दाबी गर्दै आएको छ ।

    सुतिरहेका ती भारतीय नागरिकलाई उनकै कपडा खोली आगो लगाएको खुलेको छ । त्यसपछि त्यही आगोमाथि हातखुट्टा समातेर जलाउने प्रयास भएको स्थानीयले बताएका छन् ।

    आगोले उनको शरीरको पछाडिको भाग जलेको छ । यो घटना फागुन १२ गते करिब राति १० बजेको हो । घटनालगत्तै इलाका प्रहरी कार्यालय रन्यौराले पीडितलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थियो ।

    अस्पतालमा एक रात बिताएका घाइते भारतीय नागरिक मंगलबार बिहान ८ बजेदेखि गायब छन् । अस्पतालले आफन्त नभएकाले भर्ना गर्न नसकिएको भन्दै उपचार गर्दागर्दै भागेको दाबी गरेको छ ।

    स्थानीयले पीडकलाई बचाउन घाइतेलाई गायब पारिएको आरोप लगाएका छन् । स्थानीय तुलसी अर्यालले जलेका घाइते बिरामी हराउनु शंकास्पद रहेको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।

    प्रहरीले स्थानीय महेन्द्र मल्लाह र रमेश गुप्तालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्षक डिल्ली मल्लले घटना सामान्य रहेको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार