आज राति १२ बजेपछि राष्ट्रपति निर्वाचनबारे प्रचारप्रसार गर्न नपाइने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २२, २०७९

  • राष्ट्रपति निर्वाचनबारे आज राति १२ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ।

    निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि हुनेछ।

    यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलको समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।

    राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए।

    आयोगको गत माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ। निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ।

    निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ।

    मतदानका दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानमा सहभागी भई हुन समेत मतदातालाई आयोगले आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार