धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ५, २०७९

  • धनगढीमा यही चैत दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो ।

    विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिनुभयो । समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ । साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कारद्वारा सम्मान गरिने छ ।

    सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मूर्धन्य साहित्यकार राजेन्द्र विमल, गजल गायक तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी हुनुहुनेछ ।

    सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलन आयोजनाका लागि मूल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमिति गठन भएका छन् । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

    सम्मेलनमा हरेक दिन सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय र क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी छ । सम्मेलन आयोजनाका लागि करिब रु ८० लाख खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा विसं २०७६ मा विश्व नेपाली साहित्य सम्मेलन र विसं २०७८ मा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार