राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन : अर्थमन्त्री डा महत


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २४, २०७९

  • अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताउनुभएको छ । आर्थिक पत्रकार सङ्घ (नाफिज)सँग आज भएको भेटमा उहाँले आयात प्रतिवन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताउनुभयो ।

    “प्रत्येक वर्ष सरकारले जिडिपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकामा चालू आवमा लक्ष्य पूरा नहुने अवस्था रहेको छ,” उहाँले भन्नुभयो । आन्तरिकरुपमा लगानी वातावरणको समस्या, बैङ्क तथा वित्तिय क्षेत्रको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उहाँको भनाइ थियो ।

    अर्थमन्त्री डा महतले मौद्रिक नीतिका उपकरण प्रयोग गरी बैङ्क तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैङ्कसँग निरन्तर छलफल भइरहेको स्पष्ट पार्नुभयो । अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

    अर्थमन्त्री डा महतले सरकारले साधारण खर्चमा अत्याधिक मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने पक्षमा सरकार रहेको बताउनुभयो । आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने उहाँको भनाइ छ । उहाँले पूर्वाधार निर्माणकार्य समयमा सम्पन्न नहुने, आयोजनाको रकम बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको स्पष्ट पार्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार