अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २६, २०७९

  • नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।

    मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।

    गत आव २०७८/७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट रु १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने रु ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

    यसैगरी चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ । गत आव २०७८÷७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने रु चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो ।

    मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु एक अर्ब १० करोड ९१ लाख मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने रु १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

    पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट