स्थानीय तहमा प्रभावकारी काम गर्न उपत्यकाभित्रका उपप्रमुखको सक्रियता


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख १६, २०८०

  • काठमाडौँ उपत्यकास्तरीय उपप्रमुख÷उपाध्यक्ष सञ्जालको दोस्रो बैठक सम्पन्न भएको छ । पालिकाहरुको काम के कसरी भएका छन्, अझ प्रभावकारीरुपमा काम कसरी अगाडि बढाउन सकिन्छ, उपत्यकाभित्रका पालिकालाई कसरी अझ प्रभावकारी नतिजा ल्याउने भन्ने विषयमा छलफल गरिएको हो ।

    बूढानीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा शुक्रबार बेलुका भएको कार्यक्रममा बूढानीलकण्ठका योजना महाशाखा प्रमुख महेशप्रसाद पाठकले योजना अनुगमनसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    उहाँले उपत्यकामा रहेका स्थानीय तहमा भएका असल अभ्यासलाई अर्को पालिकामा लागू गर्न पहल गर्नुपर्ने, एकअर्को स्थानीय तहको अवलोकन भ्रमण गरी कार्य प्रकृतिलाई एउटै ढाँचामा ल्याउनुपर्नेलगायतका विषयमा सबै पालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

    सांस्कृतिक उपत्यका : समृद्धिको बाटो विषयमा स्नेह शाहीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले पैदलयात्रु मैत्री सडक, रैथाने उत्पादनलाई ब्राण्डिङ तथा प्रवद्र्धन, फोहर व्यवस्थापनलगायतका विषयमा सरकारले चासो दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

    कार्यपत्रमाथि टिप्पणी गर्दै दक्षिणकाली नपाका उपप्रमुख वसन्ती तामाङ डंगोलले ग्रामिण भेग भएका कारण साना–साना काममा पनि स्थानीय खुसी हुने भन्दै ठूला विकासका योजनाभन्दा सानालार्ई नै जोड दिएको बताउनुभयो । उहाँले फर्पिङलाई प्राकृतिक तथा सांस्कृतिक सहर बनाउन नगरपालिकाले विषेश योजना बनाएको बताउनुभयो ।

    टिप्पणी गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले उपत्यकास्तरीय उपप्रमुख÷उपाध्यक्ष सञ्जालको बैठक प्रभावकारी भएको बताउनुभयो । अन्य नगरका राम्रा काम सिक्न र कार्यान्वयन गर्नसमेत हौसला मिलेको उहाँले जनाउनुभयो ।

    उहाँले भन्नुभयो, “सबै जना एकै ठाउँमा बसेर छलफल गरेर काम अगाडि बढाउँदा धेरै कुरा जान्न, बुझ्न, सिक्न र कार्यान्वयन गर्न पनि सहज भएको छ, आगामी दिनमा अझ प्रभावकारीरुपमा काम गर्न हौसलासमेत भएको छ, चुनौतीलाई कसरी समाधान गर्ने र आगामी योजना बनाउनसमेत सहज भएको छ ।”

    नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले बेरुजु न्यूनीकरण कसरी गर्ने सम्बन्धमा कार्ययोजना बनाएर काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो । गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीले नगरमा बेरुजु धेरै आएको भन्दै यसलाई कम गर्न समाधानका उपायबारे सोच्नुपर्ने धारणा राख्नुभयो ।

    कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यले एउटै कामलाई तीन पटकसम्म अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय योजनासम्बन्धी कार्यविधि नगरमा नहुँदा स्थानीय तहले समस्या भोग्नुभरेको बताउनुभयो ।

    कार्यक्रमका अध्यक्ष तथा बूढानीलकण्ठका उपप्रमुख अनिता लामाले बूढानीलकण्ठले गरेका असल अभ्यास सम्पूर्णमा जानकारी गराएको बताउनुभयो । विज्ञको कार्यपत्र प्रस्तुतीबाट मूल्याङ्कन गरेर अनुशरण गर्नुपर्ने धारणा राख्नुभयो । उपप्रमुख लामाले उपत्यका सांस्कृतिक सम्पदा भएको सहर भएकाले यसलाई सही ढङ्गले व्यवस्थित सम्पदा सम्वद्र्धन र प्रवद्र्धन गर्न सञ्जालको प्रतिबद्धता रहेको बताउनुभयो ।

    उहाँले आगामी तेस्रो बैठक भक्तपुरको सूर्यविनायक नगरपालिकामा हुने सञ्जालको निर्णय रहेको बताउनुभयो । उहाँले सो बैठकमा नीति, कार्ययोजना तथा कार्यान्वयन कसरी गराउने भन्ने विषयमा बैठक बस्ने निर्णय भएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट