पोर्चुगलमा सुतेकै अवस्थामा निधन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ ७, २०८०

  • लिस्बन, ७ जेठ  । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।

    साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभयो । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हँुदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

    परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गर्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार