तिलिचोबाट हिमालय बचाउ अभियान


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ८, २०८०

  • काठमाडौँ, ८ जेठ । ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियानअन्तर्गत विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल परिसर सफा गर्दै सोही स्थानबाट हिमालय जोगाउका लागि सन्देश प्रवाह गरिएको छ ।

    मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरिरहेको अभियानका क्रममा आज सो स्थानबाट हिमालय बचाउ नदी जोगाउने सन्देश प्रवाह गरिएको काठमाडौँ अध्यक्ष भगवान् पुडासैनीले राससलाई जानकारी दिनुभयो । शान्ति समाजका सल्लाहकार तथा धर्ती जोगाउ अभियानका अभियानकर्मी उत्तम पुडासैनी, शान्ति समाज काठमाडौँ शाखाका सभापति, सचिव तथा कोषाध्यक्ष क्रमशः भगवान पुडासैनी, प्रमोद फुँयाल र विकास थापा सम्मिलित समूहले मनाङ जिल्लाको खाङ्गसारदेखि तिलिचोसम्मको पदयात्रा गर्दै यत्रतत्र फालिएका फोहोर व्यवस्थापन गरेर अभियानलाई निरन्तरता दिएको हो ।

    तिलिचो किनारमा पुगेर भावी सन्ततिको सुरक्षाका लागि र मानव जीवनकै अस्तित्वका लागि अब फोहर व्यवस्थापनमा सबै सचेत हुनुपर्ने सन्देश प्रवाह गरिएको छ । सो अवसरमा अभियानकर्मीको समूहले कार्बन उत्सर्जनमा न्यूनता ल्याउन सबैसँग आग्रह गरेको छ ।

    शान्ति समाजले हिमालय बचाउ अभियानअन्तर्गत यसअघि सङ्खुवासभाको मकालुबाट हिमालय बचाउ अभियानको प्रारम्भ गरेको थियो । उक्त अभियानको अगुवाइ नागरिक अगुवा डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गर्नुभएको थियो । त्यसपछि मुस्ताङको लोमानथाङबाट समेत हिमालय बचाउ अभियानलाई अघि बढाइएको समाजले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार