फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार १, २०८०

  • नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गर्नुभएको छ ।

    आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएपछि कार्कीले आजै सर्वाेच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो । पदबाहालीपछि कुरा गर्दै उहाँले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै न्यायपालिकाको अधिकार क्षेत्र पुनरावलोन गर्ने उहाँकाे भनाइ छ ।

    “प्रतिवेदनको जगमा बसेर कार्ययोजना बनाएको छु, प्रतिवेदन सर्वोच्चलगायत सबै अदालत र सरोकारवाला सबैको समर्थनमा तयार भएको हो”, उहाँले भन्नुभयो, “सबैको सहयोग र सहकार्यबाटै यसलाई टुङ्गोमा पुर्‍याउन सकिन्छ ।”

    उहाँले आफ्नो कार्यकाल छोटो हुनु र नहुनुभन्दा पनि न्यायापालिकालाई कसरी अगाडि बढाउने भन्ने विषय मुख्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं ।”

    उहाँले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताउनुभयो । प्रधानन्याधीश कार्कीले न्यायाधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिनुभयाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट