कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस २१, २०८०

  • कर्णाली, २१ पुस : कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो ।

    अन्तक्र्रिया कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको बताउनुभयो । प्रदेशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय समेत स्थापना नगरिएकामा उहाँले गुनासो गर्नुभयो । “आर्थिक हिसाबले चिया र कफी खेती व्यावसायिकरुपमा हुन जरुरी छ”, उहाँले भन्नुभयो । मन्त्री शर्माले खेती प्रवद्र्धनका लागि प्राविधिक जनशक्ति उपलब्ध गराउन विकास बोर्डसँग अनुरोध गर्नुभयो ।

    कर्णाली प्रदेशसभा सदस्यद्वय विन्दमान विष्ट र घनश्याम भण्डारीले अन्य प्रदेशमा विकास बोर्ड कार्यालय स्थापना, उत्पादन तथा बजारीकरणका काम भइरहँदा कर्णालीमा त्यसो नगरिएकामा आपत्ती प्रकट गर्नुभयो । बराहताल गाउँपालिका–३, सुर्खेतका कफी कृषक मोहनकुमार आचार्यले प्राविधिक ज्ञान नहुँदा लगाएको कफी मास्नु परेको र फलेको कफी पनि बिक्री नभएको बताउनुभयो ।

    बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले कर्णालीमा चिया र कफीको अत्यन्त सम्भावना रहेको बताउनुभयो । “यसको खेतीमा जोड दिन सबै स्थानीय तहको अग्रसरता, प्रदेश तथा सङ्घीय सरकारको समन्वय एवं सहयोग आवश्यक छ ।”

    छलफलको क्रममा चिया तथा कफी विकास बोर्ड कार्यालय प्यूठानका प्रमुख सिपी बस्नेतले सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेका उल्लेख गर्नुभयो । सिद्धार्थ बहुउद्देश्यीय सहकारीका सचिव तुलारम सिंजालीले चिया तथा कफी खेतीसम्बन्धीको कुनै पनि ज्ञान, सीप र जनशक्ति नहुँदा किसानको उत्पादनलाई खेर जान नदिन आफूहरुले खरिद गरेको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार