हिमालय एयरलाइन्सलाले पायो आयोसा सर्टिफिकेट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २४, २०८०

  • काठमाडौँ, २४ पुस : हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको हो । योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका रुपमा दर्ज भएको छ ।

    हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो । यो उपलब्धीलाई हिमालय एयरलाइन्सले उड्डयन क्षेत्रको कोसोढुङ्गाको रुपमा लिएको जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले आयोसामा दर्ता भएको उपलब्धी विमान कम्पनीको मात्रै नभइ मुलुक र उड्डयन क्षेत्रको उपलब्धी भएको बताउनुभयो । “यो उपलब्धीले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ”, उहाँले भन्नुभयो, “हवाई सुरक्षामा नयाँ आयाम स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।”

    यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि कम्पनीको निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्ने नभई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवा कम्पनीका रूपमा समेत स्थान दिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई कायम राख्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले हिमालय एयरलाइन्सको उपलब्धी मुलुकका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणका तर्फबाट म हिमालय एअरलाइन्सलाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणका लागि तथा प्रतिष्ठित प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँछ ।”

    सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल चार थान विमान तीन एयरबस ३२०–२१४ र एक एयरबस ३१९–१४४ मार्फत मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका पाँच सहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार