रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस २६, २०८०

  • मङ्गलबारे (इलाम), २६ पुस : इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो ।

    यसका लागि ‘विद्यालयमा आधारित उद्यमशिलता कार्यक्रमको कार्यविधि–२०८०’ तयार गरेर विद्यार्थीले अनिवार्यरुपमा बैंकमा खाता खोल्नुपर्ने प्रावधान ल्याइएको छ । पालिकाभित्रका विद्यार्थीले बैंक खाता खोलिसकेको बताइएको छ । विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्न सो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सो कार्यक्रममा सहभागी भएका छन् ।

    गाउँपालिकाले प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेर काम अगाडि बढाएको हो । विद्यार्थीको सम्पूर्ण विवरण सङ्कलन गरेर बैंक खाता विद्यालयबाट नै खोलिएको जनाइएको छ । माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनु ठूलो कुरा रहेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ । उहाँले भन्नुभयो “सानो उमेरदेखि नै बचत गर्ने बानीको विकास गराउन कार्यक्रम ल्याइएको हो । उसबाट बचतको संस्कार एवं वित्तीय साक्षरताको समेत विकास हुनेछ । ”

    विद्यार्थीको हाजिरी हेरेर उपस्थित भएको दिनको मात्र रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ । यसले विद्यार्थीलाई विद्यालयमा उपस्थित हुनसमेत हौसला मिल्ने अपेक्षा लिइएको छ । यसमा विद्यार्थीले समेत बचत गर्नुपर्ने व्यवस्था छ । यसमा विद्यार्थीको तर्फबाट समेत दैनिक रु एक वा सोभन्दा बढी रकम बचत गर्ने व्यवस्था मिलाइएको छ । बचत पासबुकमार्फत रकम जम्मा गरिने प्रावधान मिलाइएको छ । दैनिकरुपमा बचत गर्न चाहे पनि व्यवस्था मिलाइएको र मासिक बचत एकै पटक गर्न चाहे सोकोसमेत व्यवस्था मिलाइएको छ ।

    कार्यक्रमबाट विद्यार्थीमा बचत गर्ने बानीको विकाससँगै बचत भएको पैसाले उच्च शिक्षामा समेत सहज हुने अपेक्षा गरिएको छ । कार्यक्रमका लागि प्राइम कमर्सियल बैंकले समेत रु दुई लाख ५० हजार बढी सहयोग गरेकोे छ । प्रत्येक विद्यार्थीको खाता खोल्दा बैंक खातामा रु १०० दरले जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता भएको छ । पालिका भित्र ३० सामुदायिक विद्यालय छन् । कार्यक्रममा दुई हजार पाँच सय विद्यार्थी सहभागी भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार