प्रधानमन्त्री कप क्रिकेट : एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस २९, २०८०

  • काठमाडौँ, २९ पुस : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनायो । एपिएफका लागि सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे । सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए ।

    त्यस्तै लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०÷१० रन बनाए । बागमती प्रदेश शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।

    एपिएफको भने आज नै पहिलो खेल हो । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिए । बागमती प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार